बेलायती संसद नजिकै आतंककारी आक्रमण



लन्डन, (एजेन्सी)
मध्य लन्डनस्थित संसद् भवनबाहिर एक जना प्रहरीमाथि छुरा प्रहार भएपछि आक्रमणकारीमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको जनाइएको छ।

प्रतिनिधिसभाका नेता डेविड लिडिङ्गटनले सांसदहरूलाई ‘आक्रमणकारीलाई प्रहरीले गोली प्रहार गरेको’ जानकारी गराएका थिए।

सांसदहरूले ३ वा ४ पटक गोली प्रहारको आवाज सुनेको बताएका छन्। डाउनिङ स्ट्रिटको स्रोतले प्रधानमन्त्री टेरेसा मे सकुसल रहेको जनाएको छ। संसद्बाहिर उक्त घटनामा गोली प्रहार भइरहँदा प्रधानमन्त्री मेलाई सिल्भर रङको जागुअर गाडीमा इस्कोर्ट गर्दै लगेको देखिएको थियो।

संसद्भित्रका कर्मचारीलाई कार्यालयभित्रै बस्न भनिएको छ। संसद् भवनलाई सुरक्षाकर्मीले पूर्ण नियन्त्रणमा लिइसकेको छ। वेस्टमिनिस्टर ब्रिजमा गोली चलेको र कयौं घाइते भएको सूचना दिएर स्कटल्यान्ड यार्डलाई बोलाएको जनाइएको छ। प्रहरीले भनेपछि ट्रान्सपोर्ट फर लन्डनले वेस्टमिनिस्टर अन्डरग्राउन्ड स्टेसनलाई बन्द गरेको छ।

एकजना प्रहरी अधिकारीले बीबीसीलाई पोर्टकलिस हाउसबाहिर संदिग्ध आक्रमणकारीलाई गोली प्रहार गरिएको बताए। हातमा छुरा बोकेका एकजना व्यक्ति प्यालेस अफ वेस्टमिनिस्टरतर्फ गइरहेको एकजना प्रत्यक्षदर्शीले बताए। एकजना प्रत्यक्षदर्शी रोडोस्ला सिकोस्की, हार्भर्ड सेन्टर फर युरोपियन स्टडिजका वरिष्ठ सहपाठीले ट्विटरमा पोस्ट गरिएको भिडियोमा वेस्टमिनिस्टर ब्रिजमा केही व्यक्ति घाइते अवस्थामा सडकमा पल्टिरहेको देखिएका थिए। उनले लेखेका छन्– ‘एउटा गाडीले वेस्टमिनिस्टर ब्रिजमा कम्तीमा पाँच जनालाई किचेको थियो।’

प्यालेस अफ वेस्टमिनिस्टरको परिसरमा थप हिंसाका घटनाहरू भएको समाचार आइरहेको लिडिङ्टनले बताए। केही सञ्चारमाध्यमले वेस्टमिनिस्टर ब्रिजमा आक्रमणकारीले आफूले चलाइरहेको खरानी रंगको ह्युन्डाइ कारले बटुवाहरूमाथि जथाभावी किच्दा एक जना महिलाको मृत्यु भएको र अन्य कयौं घाइते भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्