प्रस्तावितमध्ये ६ जनाको संसदीय सुनुवाइ



काठमाडौँ, ८ चैत । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतमा प्रस्तावितमध्ये आज छ जनाको संसदीय सुनुवाइ गरेको छ ।

समितिले शर्मिला पराजुली (ओमन), निरञ्जनकुमार थापा (इजरायल), रमेशप्रसाद कोइराला (कतार), अर्जुनजङ्गबहादुर सिंह (गणतन्त्र कोरिया), प्रतिभा राणा (जापान) र युवनाथ लम्साल (डेनमार्क)को आज सुनुवाइ गरेको हो । सरकारले केही समयअघि १२ मुलुकका लागि राजदूतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

प्रस्तावित राजदूतले समितिसमक्ष आफ्नो योग्यता, अभिरुचि, अवधारणा, कार्यायोजना र सोच प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले आफ्नो नाम अनुमोदन भएमा नेपालको संविधानमा रहेका विशेषताको प्रचारप्रसार गर्ने, देशको शिर उठाउने तथा नेपाली जनताले गर्व गर्नलायक काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्