एमालेले सोध्यो मोर्चा के गर्दा चुनावमा आउँछ ?



मधुसूदन रायमाझी
काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई के गर्दा मधेसी मोर्चा चुनावमा भाग लिन्छ? ठोस रुपमा प्रस्ताव ल्याउन आग्रह गरेको छ। सरकार र मधेसी मोर्चाबीच भएको वार्तामा अस्पष्ट कुराकानी हुँदा समस्या समाधान हुनुको सट्टा समस्या बढ्दै गएको बताउँदै एमालेले मधेसी मोर्चाको माग स्पष्टरुपमा प्रस्तुत गर्न माग गरेको हो।

संविधान संशोधन र स्थानीय निकायको निर्वाचनको बारेमा छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेले संविधान संशोधन विधेयक पारित गर्न नसकिने अडान दोहोर्याएको छ।

प्रधानमन्त्री प्रचण्डले सीमांकनबाहेक भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वलगायतको विषयमा लचक हुन एमालेलाई आग्रह गर्नुभएको थियो। ‘सरकार निर्वाचन गराउन प्रतिबद्ध छ, तर निर्वाचनअगाडि मधेसी मोर्चालाई सहमतिमा ल्याउन सीमांकनबाहेकका विषयमा संविधान संशोधन गरौं’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘निर्वाचनको विकल्प छैन, समस्या समाधान गर्न गम्भीर भएर लाग्नुपर्यो।’ बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा भइरहेको छलफलबारे जानकारी गराउँदै सहमति निर्माण गर्न एमालेसँग सुझाव माग्नुभएको थियो।

जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव थाती राखेर अघि नबढे स्थानीय तहको निर्वाचन प्रभावित हुने भएकाले निर्वाचन गराउन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा निर्वाचन हुने विश्वास व्यक्त गर्दै मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि सीमांकनबाहेकको विषयमा संविधान संशोधन गरेर जानुपर्नेमा जोड दिनुभएको थियो। बैठकमा सहभागी नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मधेसी मोर्चाको मागका बारेमा सरकारले ठोसरुपमा प्रस्ताव ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकार र मधेसी मोर्चाबीच के–के विषयमा कुराकानी भएको हो? के–के गर्दा मधेसी मोर्चा चुनावमा भाग लिन्छ? सरकारले ठोस प्रस्ताव ल्याउनुपर्ने माग गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्