मोर्चाभित्रै कार्यकर्ता तानातान



बीपी साह, काठमाडौं
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनको बहिष्कार गर्दै आएको छ। संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नदिने दाबी गरेको मोर्चाले निर्वाचनलाई लक्षित गरी कार्यकर्ता तानातान गर्न थालेको छ।

मधेसी मोर्चाभित्र उपेन्द्र यादव समूह र राजेन्द्र महतो समूहबीच विवाद जारी रहेको छ। मोर्चाभित्र यादवलाई महेन्द्र यादवले समर्थन गर्दै आएका छन् भने महतोलाई महन्थ ठाकुर र राजकिशोर यादवले समर्थन गर्दै आएका छन्।

शरतसिंह भण्डारी उपेन्द्र यादवको समूहमा देखिए पनि यादवले कम्युनिस्टहरूलाई भेला गर्न थालेपछि भण्डारी अलग भएका हुन्। यता अनिलकुमार झालाई उपेन्द्र यादवले पेल्दै आए पनि उनी महतोको पार्टीबाट अलग भएकाले अहिलेसम्म सम्बन्ध सुध्रिन सकेको छैन। त्यसकारण झा अहिले एक्लिएका छन् र यादवको रबैयाको चर्को आलोचना गर्दै हिँडेका छन्।

मोर्चाभित्र आन्तरिक मनमुटाव केही राजनीतिक विषयबस्तुका कारणले भए पनि मुख्य रूपमा नेता तथा कार्यकर्ता तानातानले नेताहरूबीचको सम्बन्ध बिग्रिँदै गएको छ।

रौतहटमा यादवको पार्टीबाट पूर्वसांसद रम्भवा देवी र केन्द्रीय सदस्य रामेश्वर यादव राजेन्द्र महतोको पार्टीमा प्रवेश गरेका छन्। त्यस्तै, फोरम नेपालबाट अन्य नेताहरू सद्भावना पार्टीमा प्रवेश गर्ने तयारी गरेका छन्। जसकारण यादव महतोबाट झनै चिढिएका छन्।

यसअघि महतो र यादवबीच मधेसी ट्रेड युनियनका विषयमा विवाद भएको थियो। मधेसी ट्रेड युनियन महासंघ यादवको पार्टीसँगको आवद्धता तोडेर सद्भावना पार्टीसँग निकट भएपछि दुई नेताबीच चर्को विवाद भएको थियो।

अहिले मधेसी मोर्चामा अन्य पार्टी भन्दा पनि संघीय समाजवादी फोरम नेपाल र सद्भावना पार्टीबीच नेता तानातान भइरहेको छ। सद्भावना पार्टीका प्रवक्ता संतोष मेहता भन्नुहुन्छ– ‘राजनीतिक विचारका आधारमा नेताहरू पार्टी परिवर्तन गर्छन्। तर यादवको पार्टीमा हैकमवादी विचारका कारण पार्टी परित्याग गर्नेको संख्या बढ्दै छ। र, यादवको पार्टीबाट मधेसी नेताहरू बाहिरिँदैछन्।

यता संघीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष विजय यादव भन्छन्– ‘पार्टीमा रहने वा परित्याग गर्ने कसैले भनेको आधारमा हुँदैन। जसलाई जहाँ उचित लाग्छ त्यहाँ जान्छन्। यादवले एक दुई जनाले पार्टी परित्याग गर्दैमा फोरमलाई ठूलो झट्का लाग्दैन भन्दै ठूलो संख्यामा फोरममा पनि नेताहरू प्रवेश गर्ने कार्यक्रम रहेको बताउनुभयो।

श्रोतका अनुसार दुबै पार्टीले निर्वाचनलाई मध्यनजर गरी पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन्। निर्वाचनमा जाने सहमति भएको खण्डमा निर्वाचनमा सहभागी हुने पूरा तयारी मोर्चाका अन्य दलहरूले पनि गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्