पैंतीस दिनमा तयार हुँदै मतपत्र



ईश्वरराज ढकाल, काठमाडौं
मतपत्र छपाइको निगरानी गर्न २६ वटा सीसीटीभी जडान गर्ने तयारी भएको छ। जनक शिक्षा सामग्रीको सेक्युरिटी प्रेसको सिलबन्दी गरिएको क्षेत्रमा २६ वटा सीसीटीभी जडान गर्न लागिएको हो। केन्द्रले १६ वटा जडान गरिसकेको छ। एसईई र कक्षा १२ को प्रश्नपत्र छपाइ गर्दा जडान गरिएको १६ र निर्वाचन आयोगले १० गरी २६ वटा सीसीटीभी जडान गर्न लागिएको हो। निर्वाचन आयोगले उपलब्ध गराएको १० वटा सीसीटीभी जडान कार्य शुरु गरिएको छ। सबै सीसीटीभी नेपाली सेनाको कमाण्डमा रहने र सेनाले नै गतिविधि अवलोकन गर्ने भएको छ। केन्द्रको सेक्युरिटी प्रेसमा सेना बसिसकेको छ। केन्द्रका कर्मचारी मतपत्र छपाइ गर्न तयार भइसकेका छन्। हिजो शनिबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव गएर मतपत्र छपाइको शुभारम्भ गर्नुभएको थियो। आज आइतबारबाट मतपत्र छपाइ कार्य शुरू हुने भएको छ। ‘अब मतपत्र छपाइको काम गर्नेछौं।’ –केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले भन्नुभयो।

मतपत्र छपाइ अवधिभर छापाखानामा सबैलाई प्रवेश निषेध गरिएको छ। केन्द्रका प्रबन्ध सञ्चालक वा अन्य जो कोही कर्मचारीले मतपत्र छपाइ निरीक्षण गर्न अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। प्रेसमा काम गर्ने करिब १ सय ४० जना कर्मचारीलाई पासको व्यवस्था मिलाइएको छ। छपाइ गर्न केन्द्रका १ सय ४० र निर्वाचन आयोगका करिब २० जना कर्मचारी परिचालित हुनेछन्। सेनाले मतपत्र छपाइ र ढुवानीलगायत सम्पूर्ण जिम्मेवारी लिएको छ। केन्द्रले ३५ दिनभित्र छपाइ गर्ने प्रतिबद्धता जनाएको छ। ३५ दिनमा १ करोड ६० लाख थान मतपत्र छपाइ गर्नेछ। वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको मतपत्र छपाइ गर्ने कार्य नसकुन्जेल सेनाको टोली जनक शिक्षाको छापाखानामै बस्नेछ। करिब डेढ सय सेना प्रेस परिसरमा खटिनेछन्। निर्वाचन आयोगले २०६४ र २०७० सालमा उपलब्ध गराएको चार र केन्द्रसँग रहेको ३ वटा गरी सातवटा प्रेसमा मतपत्र छपाइ गर्न लागेको हो। मतपत्र छपाइका लागि केन्द्रले पेस्कीबापत ४ करोड रुपियाँ माग गरेको छ। सोहीअनुसार आयोगले केन्द्रलाई पेस्की उपलब्ध गराउने तयारी गरेको छ।

तयारी गर्न बिहीबार नै कर्मचारी केन्द्रको प्रेसमा पुगेका थिए। जिल्लाअनुसार फरक मतपत्र छपाइ हुने भएको छ। काठमाडौंका लागि सबैभन्दा बढी र मनाङका लागि सबैभन्दा थोरै मतपत्र छपाइ हुनेछ। करिब १ करोड ४० लाख मतदाता भए पनि कतिपय अवस्थामा बढी मतपत्र खर्च हुने भएकाले १ करोड ६० लाख थान मतपत्र छपाइ गर्न लागिएको हो। केन्द्रले २४सै घण्टा मेसिन सञ्चालन गरी तोकिएकै समयमा मतपत्र छपाइ पूरा गर्ने योजना अघि बढाएको छ।

मतपत्र छपाइसँगै केन्द्रले सेक्युरिटी प्रेस क्षेत्रबाहिर रहेको छापाखानामा पाठइ्पुस्तक छपाइ गर्ने भएको छ। आगामी शैक्षिक सत्रमा पाठइ्पुस्तकको अभाव हुने आशंका बढिरहेको अवस्थामा केन्द्रले पुस्तक छपाइलाई पनि विशेष प्राथमिकता दिएको छ।

आगामी वर्ष पुस्तकको अभाव हुन दिदैनौं त्यसैका लागि विशेष ध्यान दिएका छौं –प्रबन्ध सञ्चालक तिमल्सिनाले भन्नुभयो। उहाँले साझा र अन्य निजी प्रेसलाई दिएर भए पनि पुस्तक अभाव हुन नदिने जिकीर गर्नुभयो। ‘मतपत्र छपाइ गर्ने कर्मचारी मतपत्रकै लागि र पुस्तक छपाइ गर्ने कर्मचारी त्यही कामका लागि परिचालित हुनेछन्’ –उहाँले भन्नुभयो। मतपत्र छपाइ शुरु भएपछि पुस्तक छपाइमा ध्यान दिन सबै कर्मचारी लागि परेको उहाँको भनाइ थियो। ‘हामी पुस्तक अभाव हुन दिदैनौं, छपाइ गरेका सम्पूर्ण पाठ्यपुस्तक क्षेत्रीय कार्यालयहरूमा ढुवानी गर्न थालिसकेका छौं’ –केन्द्रका निर्देशक कपिलदेव पोखरेलले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्