नेपाल परममित्र ः मोदी



काठमाडौं, (नेस)
भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर नेपाली मारिएको घटनाको बारेमा जानकारी गराउनुभएको छ।

भेटका क्रममा मोदीले कञ्चनपुरमा भएको गोली काण्डमा भारतीय सुरक्षाकर्मी दोषी देखिए कारबाही गर्ने आश्वासन दिनुभएको गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले जानकारी गराउनुभएको छ।

प्रधानमन्त्री मोदीले उक्त घटनापछि सरकारले छानबिन अगाडि बढाएको र घटनामा दोषी देखिए आफ्ना सुरक्षाकर्मीलाई कारबाही गर्ने आश्वासन दिनुभएको थियो। इण्डिया फाउण्डेसनले आयोजना गरेको प्रति आतंकवादसम्बन्धी सम्मेलनमा भाग लिन जानुभएका गृहमन्त्री निधिले राजनीतिक भेटघाटलाई तीव्र बनाउनुभएको छ।
गत फागुन २६ गते कन्चनपुरको आनन्दबजार क्षेत्रमा कल्र्भट निर्माण गर्ने विषयलाई लिएर नेपाल भारतबीच तनाव भएको बेला भारतीय एसएसबीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो। त्यसपछि अहिले दिनहुं जस्तो भारत बिरुद्ध नेपालको सीमावर्ती क्षेत्रमा प्रर्दशन भइरहेको छ।

भेटका अवसरमा प्रधानमन्त्री मोदीले नेपाल भारतको परममित्र भएकाले नेपालका मामिलाका बारेमा भारत चिन्तित रहेको जानकारी मन्त्री निधिलाई गराउनुभएको थियो।

भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर नेपालीको मृत्यु भएकोमा अहिलेसम्म भारतले गल्ती स्वीकार गरेको छैन।

प्रतिक्रिया दिनुहोस्