तीव्र गतिको ट्रक ब्रेक फेल हुँदाको आतंक



पाँच सवारी साधनलाई ठक्कर, दुईको मृत्यु, छ घाइते

रोविन पौडेल, काठमाडौं

शुक्रबार बिहान ११ बजे काठमाडौंको थानकोटतर्फबाट कलंकी आउँदै गरेको मालवाहक ट्रक एकाएक अनियन्त्रित भई त्रासमय वातावरण सिर्जना गर्यो। ब्रेक फेल भई थानकोटको दाउरा डिपोदेखि दूरसञ्चारसम्म २ सय मिटर दूरी तय गर्दा ट्रकले अन्धाधुन्ध रुपमा ५ वटा सवारीसाधनलाई ठक्कर दियो। उक्त भयावह दुर्घटनाका कारण २ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ।

नागढुङ्गाबाट कलंकीतर्फ गइरहेको ना ३ ख ९७७३ नम्बरको मालवाहक ट्रक ब्रेक फेल भई अनियन्त्रित हुँदा ५ वटा विभिन्न सवारी साधनलाई ठक्कर दिएको थियो। ठक्कर दिने क्रममा ट्रकले सबैभन्दा पहिले सोही दिशामा कुदिरहेको बा६च ५४६९ नम्बरको कार र बा७९प ६२८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। प्रत्यक्षदर्शीका अनुसार त्यसपछि चालकले पोलमा ठोक्काई गाडी रोक्न खोजे पनि गाडी रोकिएको थिएन।

तीव्र गतिमा रहेको ट्रकले त्यसको २ सय मिटर टाढा विपरीत दिशामा गइरहेको मे१ख २४३९ नम्बरको मिनिट्रकलाई ठक्कर दिएको थियो। दुई ट्रक ठोक्किँदा मिनिट्रकले बा१ज ७९६७ नम्बर र बा६०प १९५ नम्बरको मोटरसाइकलमा क्षति पुर्याएको थियो। सो भयानक दुर्घटनामा स्कुटर, मोटरसाइकल र ट्याक्सी टुक्राटुक्रा भएका छन् भने मिनिट्रकको अगाडिको भाग कुच्चिएको छ। त्यस्तै कारको पछाडिको भागमा सामान्य क्षति पुगेको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा मिनिट्रकका चालक झापा अनारमनिका ३७ वर्षीय डम्बर पोखरेल र ट्याक्सी चालक काभ्रेका ४६ वर्षीय कान्छा बली लामा रहेका छन्।

मिनिट्रक चालकको घटनास्थलमै च्यापिएर र ट्याक्सी चालकको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्युभएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेमध्ये स्कुटर चालक थानकोटका बालकृष्ण ढकालको अवस्था गम्भिर रहेको छ। मिनिट्रक चालकलाई गाडीमै च्यापिएको अवस्थामा घटनाको ४५ मिनेटपछि क्रेनको सहायताबाट निकालिएको थियो।

घाइते हुनेमा ट्याक्सीमा सवार कास्की निवासी कृष्णा थापा, उनकी ५ वर्षीय छोरी क्रेविना थापा, ४ वर्षीय एडिक थापा, बालुवाटारकी अन्जु आले र मोटरसाइकल चालक नुवाकोटका ४५ वर्षीय रामभक्त पौडेल रहेका छन्। घाइते सबैको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्रकका फरार चालकलाई पक्रिने प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्