महानिरीक्षक मुद्दाको टुंगो ६ गते लाग्ने



डा. पोखरेललाई कार्यवाहक दिने सरकारको तयारी

काठमाडौं, (नेस)

सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको बढुवा प्रक्रियामा परेको मुद्दाको अन्तिम सुनुवाइ यही चैत ६ गतेका लागि सारेको छ।

मन्त्रिपरिषद्ले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले पूर्ण इजलासमा सुनुवाइ गर्ने गरी चैत ६ गतेका लागि सार्ने निर्णय गरेको हो।

सरकारले प्रहरी नियमावलीमा गरिएको व्यवस्थालाई मिच्दै तेस्रो वरीयतामा रहेका जयबहादुर चन्दलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णय बदर गर्न माग गर्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट दायर गरेका थिए। गत फागुन २ गते डीआईजी नवराज सिलवालले वरिष्ठताको आधारमा आफू पहिलो नम्बरमा रहेको भन्दै नियुक्ति बदर गर्न रिट दायर गरेका थिए।

सरकारले गरेको निर्णय कार्यान्वयन नहुने देखेपछि हालका प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई कार्यवाहक प्रहरी प्रमुख बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको सरकारी उच्च स्रोतले जानकारी दियो। हालको प्रहरी नियमावली र प्रहरी ऐनलाई संशोधन गरेर डा. पोखरेललाई कार्यवाहक प्रमुख बनाउने तयारी गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्