सुरक्षा थ्रेट बढेको भन्दै प्रम पुत्रले लिए आधुनिक हतियार



दीपक रिजाल, काठमाडौं
लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेका छन्। प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिवसमेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमतिपत्र लिएका हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख हिमनाथ दवाडीले प्रधानमन्त्री पुत्र प्रकाशले हतियार राख्ने अनुमति लिएको जानकारी दिनुभयो। उहाँले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो– ‘उहाँले हतियार राख्ने अनुमति लिनुभएको र यो उहाँको अधिकार पनि हो। एउटा नेपाली नागरिकले आफूलाई असुरक्षा महसुस भयो भने अनुमति लिएर हतियार राख्न पाउँछन्।’

प्रकाशले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन्। उनले खरिद गरेको अत्याधुनिक राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ।

विभिन्न प्रकरणमा विभिन्न काण्डमा मुछिँदै आएका दाहालले व्यक्तिगत सुरक्षा चुनौती र जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा हतियार राख्ने अनुमति मागेका थिए।

उनको निवेदनलाई सुरक्षा समितिको बैठकले हतारहतार गरेर हतियार राख्ने अनुमति दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको एक उच्च स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले दाहाललाई इटलीबाट आयात गरिएको २२ बोरको अत्याधुनिक राइफल र त्यसमा लाग्ने २ सय थान गोली राख्ने इजाजत दिएको छ।

माओवादी जनयुद्धका बेला सुरक्षा थ्रेड बढेकाले हतियार राख्न अनुमति माग्ने नेतालाई कायरको संज्ञा दिएर कारबाहीको दायरमा ल्याउने गरेका प्रचण्डले अहिले भने छोरालाई सुरक्षा थ्रेड बढेको भन्दै हतियार राख्ने अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई स्वयम्ले निर्देशन दिएपछि सुरक्षा समितिको बैठकले हतियार राख्ने अनुमति दिएको हो।

यहाँ प्रश्न उठेको छ प्रधानमन्त्रीजस्तो गरिमामय पदका लागि सुरक्षा दिन नसक्ने आंकलन गरिएकाहरूले देशका अन्य ‘भीभीआईपी’ हरूको व्यक्तिगत सुरक्षा कसरी दिन सक्लान् ? देशको प्रधानमन्त्रीको रक्षा र सुरक्षा दिन नसक्ने सुरक्षा संयन्त्रले देशको सीमा सुरक्षा कसरी गर्लान भन्ने गम्भिर प्रश्न खडा भएको छ।

प्रधानमन्त्रीको सुरक्षामा देशको उच्च सुरक्षा संयन्त्र खटिएको हुन्छ अनि त्यसैअनुरूपको सुरक्षाकर्मी, प्रविधि र हतियार पनि हुन्छ।

आफ्नो व्यक्तिगत सुरक्षाप्रति प्रधानमन्त्री नै सुरक्षा संयन्त्रसँग सशंकित भएपछि मुलुकको सुरक्षा कस्तो अवस्थामा रहेको छ भन्ने प्रश्न खडा भएको छ।

प्रतिक्रिया दिनुहोस्