उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्री सिंहबीच भेटघाट



नयाँदिल्ली ।
भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच आज बिहान भेटबार्ता भएको छ ।

नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे आफ्ना समकक्षी सिंहको ध्यानाकर्षण गराउनु भएको थियो । जबाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गर्नुभएको थियो ।

त्यस अबसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा बिबादका सम्बन्धमा बिगत तीन बर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राबिधिक टिममा २ वटा टिम थपेर सीमा स्तम्भ लगायतका प्राबिधिक कामलाई थप गति दिने प्रस्ताब गर्नु भएको थियो ।

भारतीय गृहमन्त्री सिंहले प्राबिधिक टिम थप्ने बिषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिकृया दिनु भएको थियो । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान सरसहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने बिषयमा छलफल भएको थियो ।

भारतीय समकक्षी सिंहसंगको भेटमा गृहमन्त्री निधिले बिगतको संबिधान सभा चुनाबमा भारतीय पक्षले गृहमन्त्रालय र निर्बाचन आयोगलाई आबश्यक पर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्बाचनमा पनि सहयोगका लागि आग्रह गर्नु भएको थियो ।

भारतीय समकक्षी सिंहले लजिस्टिक सपोर्ट गर्ने बिषयलाई सकारात्मक रुपमा लिनु भएको थियो । सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी हुनुहुन्यो ।

प्रति आतंकबाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँ दिल्ली आउनु भएका गृहमन्त्री निधि राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । गृहमन्त्री निधिले आज अपरान्ह भारतीय बिदेशमन्त्री शुष्मा स्वराजसंग भेट्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री निधि भोलि स्वदेश फर्कदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्