प्रधानमन्त्रीको प्रस्ताव मोर्चाद्वारा अस्वीकार



काठमाडौं, (नेस)
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव अस्वीकार गर्दै आन्दोलनमा जाने निर्णय गरेको छ।

मोर्चाले बुधबारबाट औपचारिक रूपमै सरकारलाई दिएको समर्थन फिर्ता लिएर निर्वाचन बिथोल्नेजस्ता कार्यक्रमहरू सार्वजनिक गरेको छ। तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालय, बिजुलीबजारमा बुधबार रातिसम्म चलेको मोर्चाको बैठकले सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो। मोर्चाले चैत ३ गतेदेखि असहयोग एवं अवज्ञा आन्दोलन, चैत १३ गते राजविराजसहित सम्पूर्ण जिल्लामा श्रद्धाञ्जलीसभा र चैत १५ गते सबै जिल्लाको निर्वाचन कार्यालय घेराउ गर्ने भएको छ।

तमलोपाका उपाध्यक्ष वृजेशचन्द्र लालका अनुसार चैत ३ गते बिहीबारदेखि सरकार एवं निर्वाचन आयोगद्वारा घोषित निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम र स्थानीय तहको नयाँ संरचना कार्यन्वयन पूर्णरूपमा असहयोग गर्ने निर्णय गरेको छ।

बैठकमा सहभागी सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनका अनुसार चैत १३ गते मधेसी मोर्चाले सप्तरीको राजविराजसहित सबै जिल्लामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ। उहाँले चैत १५ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

मोर्चा स्रोतका अनुसार चैत १५ गतेपछि आम हड्तालसहितका कार्यक्रमहरू घोषणा गर्दै छ। पहिलो चरणमा मोर्चाका नेताहरू पूर्वी–मधेस र पश्चिमी मधेशमा केन्द्रित रहनेछन्।

मोर्चाको बैठक अघि बुधबार दिउँसो प्रधानमन्त्री प्रचण्डले प्रदेशको सीमांकनलाई थाती राखेर संविधान संशोधन अगाडि बढाउने बताए पनि मोर्चाका नेताहरूले त्यसलाई अस्वीकार गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा प्रधानमन्त्रीले स्थानीय चुनावअघि सीमांकनबाहेक अन्य विषयमा संविधान संशोधन गरेर चुनावमा जान सकिने बताउनुभएको थियो।
बैठकमा प्रधानमन्त्रीले गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मत राख्ने अधिकार कटौती गर्ने गरी संविधान संशोधन गर्ने जानकारी मोर्चाका नेताहरुलाई जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्