मोर्चाको गठबन्धनद्वारा समर्थन फिर्ता लिएको घोषणा



काठमाडौँ, २ चैत । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताउनुभएको छ ।

वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी उहाँले दिनुभयो ।

साथै उहाँले बैठकको आजको कारबाही बहिष्कार गर्ने घोषणा पनि गर्नुभयो । उक्त घोषणासँगै सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय समाजवादी पार्टीलगायत दलका सांसद बैठककक्षबाट बाहिरिनुभयो ।

सो बैठकमा सांसद रामकृष्ण यादवले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन गर्नुपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गर्नुभयो ।

सांसदहरू रेवतीरमण भण्डारी, प्रेम सुवाल, लोकमणि ढकालले समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्