कांग्रेसका सांसदले भने– निर्वाचनअघि संविधान संशोधन



काठमाडौं, (नेस)
तराई मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरूले संविधान संशोधन विधेयक तत्काल अघि बढाउन पार्टी नेतृत्वलाई दबाब दिएका छन्। संविधान संशोधन गरी आन्दोलनरत मधेसी दललाई पनि स्थानीय निर्वाचनमा सहभागी गराउनुपर्ने भन्दै उनीहरूले निर्वाचन प्रक्रियासँगै संविधान संशोधन विधेयक पनि सदनमा अघि बढाउन माग गरेका हुन्।

आफ्ना सांसदहरूको मागका विषयमा सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव सदनमा अघि बढाउन पहल गर्ने बताउनुभएको थियो। कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले भन्नुभयो।

हामी स्थानीय निर्वाचन पनि गर्छौं र संविधान संशोधन पनि गर्छौं। संविधान संशोधनमा दुई तिहाइ पुग्ने सभापति देउवाको भनाइ थियो।

मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसंगको छलफलमा सभापति देउवाले कांग्रेसकै पहलमा संविधान संशोधन प्रस्ताव आएको भन्दै यो प्रस्तावलाई पारित गराउन पनि कांग्रेसले पहल गर्ने जानकारी गराउनुभएको कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। छलफलमा सभापति देउवाले संविधान संशोधन पारित गराउनका लागि यसको विरोधमा रहेका एमाले, राप्रपालगायतका दलहरूसंग पनि छलफल गर्ने बताउनुभएको प्रमुख सचेतक श्रेष्ठले जानकारी दिनुभएको छ।

संविधान संशोधनका लागि दुई तिहाइ नपुग्ने भन्दै सरकारले स्थानीय निर्वाचन पछि मात्र यो प्रस्तावलाई अघि बढाउने बताइरहेको बेला कांग्रेस सांसदहरूले निर्वाचन अघि नै संविधान संशोधन हुनुपर्ने पार्टीका शीर्ष नेताहरूसंग माग राखेका हुन्। कांग्रेस शीर्ष नेताहरूसंगको छलफलमा सहभागी सांसदहरूले संविधान संशोधन गरेर निर्वाचनमा जाऊँ भन्ने धारणा राखेको भन्दै छलफलमा सहभागी सांसद महेन्द्र यादवले जानकारी दिनुभयो।

स्थानीय निर्वाचन, संविधान संशोधन, सप्तरी घटनालगायत पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक पनि आह्वान गरेको छ। चैत १० गते बस्ने भनिएको केन्द्रीय समिति बैठकमा सरकारको कामकारवाहीलगायत पार्टीको आन्तरिक विषयमा पनि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्