सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं, (नेस)
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन मंगलबारबाट स्वतः फिर्ता भएको छ।

समर्थन फिर्तासँगै घोषित स्थानीय निकायको निर्वाचन स्थगनको माग गर्दै आएको मोर्चाले निर्वाचन बिथोल्न आन्दोलनका कार्यक्रमहरू गर्ने भएको छ। आज बुधबार बस्ने मधेसी मोर्चाको बैठकले निर्वाचनलाई केन्द्रित गरी चैत १२ गतेदेखि सशक्त आन्दोलनको घोषणा गर्ने दाबी गरेको छ।

मंगलबार बसेको मधेसी मोर्चाको सचिवालय बैठकले आन्दोलनको खाका तयार पारेको छ।

चैत ३ गतेदेखि आन्दोलनको घोषणा गर्ने मोर्चाले एसएलसी परीक्षालाई ध्यानमा राख्दै चैत्र १२ गतेदेखि आम हड्तालसहितका कार्यक्रम घोषणा गर्ने सचिवालयले जनाएको छ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले सरकारलाई दिइएको समर्थन औपचारिक रूपमै फिर्ता भएको बताउनुभयो। नेपाल समाचारपत्रसँग लालले भन्नुभयो– ‘आजबाट स्वतः रूपमा सरकारलाई समर्थन फिर्ता भएको छ। यसमा औपचारिक अनौपचारिक भन्ने कुरा नै आउँदैन। समर्थन दिने बेलामा प्रक्रिया पूरा गरिन्छ तर समान्य अवस्थामा समर्थन फिर्ता राजनीतिक निर्णयबाट हुन्छ। त्यसकारण हामीले अस्ति नै प्रधानमन्त्रीलाई लिखित रूपमै बुझाएकाले आजबाट स्वतः समर्थन फिर्ता भएको छ।’

समर्थन फिर्ता भएपछि आन्दोलनको खाका तयार पारेको सचिवालयले चैत ३ गतेदेखि ११ गतेसम्म भण्डाफोर कार्यक्रम गर्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताउनुभयो।

उहाँका अनुसार १२ गतेदेखि मोर्चाले विरोध प्रदर्शन तथा निर्वाचन बिथोल्ने कार्यक्रम गर्नेछ। अबको आन्दोलनको कार्यक्रम निर्वाचन केन्द्रित हुने झाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्