केन्यासँग नेपालको बदला



केन्याको चार विकेट लिएका शरद् भेषवाकर खुसीयाली मनाउँदै । तस्वीरः उजोल डंगोल⁄काठमाडौं

फिरोज राजोपाध्याय, काठमाडौं
ईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत पाँचौं चरणको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेर शनिबार बेहोरेको हारको बदला लिएको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले केन्यालाई दिएको १ सय ५६ रनको लक्ष्य ३० दशमलव २ ओभरमा तीन विकेटको नोक्सानीमा पछइएको हो। नेपालको जितमा पारस खड्काको अनुपस्थितमा कप्तानी भूमिकामा रहेका ज्ञानेन्द्र मल्लले उल्लेखनीय योगदान दिए। सोमबारको खेलमा मल्लले ६४ रन जोडेका थिए। उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए।

सुनील धमला (१ रन) र सागर पुन (५ रन) आउट भएपछि ३ दशमलव ४ ओभरमा १४⁄२ को स्थितिमा दह्रो साझेदारी आवश्यक भएको बेला दीपेन्द्रसिंह ऐरीले ज्ञानेन्द्रलाई राम्रो साथ दिएका थिए। ज्ञानेन्द्र र दीपेन्द्रले तेस्रो विकेटका लागि १ सय ११ रनको साझेदारी गर्नु नै नेपालको जित सम्भव भयो।

दीपेन्द्रले ओबुयाको बलमा आउट हुनुअगाडि ६२ रनको योगदान दिएका थिए। दोस्रो अन्तर्राष्ट्रिय खेलमै पहिलो अर्धशतक बनाएका दीपेन्द्रले पनि ८ चौका र १ छक्का प्रहार गरेका थिए। यसपछि आएका शरद् भेषवाकरले ११ बलमा चार चौका र १ छक्का प्रहार गर्दै २४ रनमा नट आउट रहे।

नेपालले यो खेलमा दुई अंक जोडे पनि आठ टोली सम्मिलित उक्त च्याम्पियनसिपमा प्रगति गर्न भने सकेन। नेपाल ८ अंकसहित अंक तालिकाको छैटौं स्थानमा यथावत् नै रहेको छ भने केन्या १० अंकसहित पाँचौं स्थानमा छ। शीर्ष चारमा नेदरल्यान्डस्, पपुवान्युगिनी, हङकङ र स्कट्ल्यान्ड रहेका छन्। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेट छनोट २०१८ मा सम्मिलित हुन शीर्ष चारमा रहनुपर्ने हुन्छ।

नेपालका लागि बाँकी दुई चरणका खेलले त्यसको भाग्य निर्धारण गर्नेछ। जसमा नेपालले हङकङसँग दुई खेल हङकङमै खेल्नेछ भने यूएईसँग दुई खेल तटस्थ मैदानमा खेल्ने कार्यक्रम रहेको छ।

बंगलादेशमा हुने विश्वकप छनोटमा स्थान बनाउन नेपालले घटीमा पनि तीन खेलमा जित हात पार्नैै पर्छ।

यसअघि टस जितेर नेपालले पाहुना टोली केन्यालाई ब्याटिङको निम्तो दिएको थियो। जुन निर्णय सही हुनपुग्यो। नेपाली बलरहरूले घातक बलिङ गरेर केन्याको ब्याटिङ ४६.१ ओभरमा १ सय ५५ रनमा समेटेका थिए। नेपाली बलरमा वैकल्पिकरूपमा बलिङ गरेका शरद भेषवाकर सबैभन्दा सफल सावित भए। उनले ७.१ ओभरमा २८ रन दिएर केन्याका ४ ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएका थिए।

त्यस्तै लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मेहबुब आलमले किफायती बलिङ गरे। उनले ७ ओभर बलिङ गरेकोमा ५ ओभर मेडन फ्याँकेर मात्र ११ रन खर्चंदै २ विकेट लिएका थिए।

त्यसै गरी वसन्त रेग्मीले २ विकेट लिँदा सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट आफ्नो खातामा राखे। तर, सोमपाल कामी फेरि एक पटक विकेटविहीन बनेका भएका छन्।

प्रतिक्रिया दिनुहोस्