दोस्रो खेलमा नेपालले ७ विकेटले हरायो केन्यालाई



काठमाडौं, नेस ।
किर्तिपुरस्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा केन्यालाई नेपालले ७ विकेटले हराएको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत केन्यासँगको दोस्रो खेलमा नेपालले केन्यालाई हराएको हो ।

केन्याले दिएको १ सय ५६ रनको लक्ष्य नेपालले तीन विकेट जाँदा ३०.२ ओभरमा पूरा गरेको हो । तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले १११ रनको साझेदारी गरे । दिपेन्द्र सिंह ऐरी ६५ रन बनाएर आउट भए । १ सय १८ बल बाँकी छँदै नेपाल विजयी भयो । ज्ञानेन्द्र मल्लले ९३ बलमा ६४ रन र शरद भेषावकरले ११ बलमा २४ रन बनाए ।
सुनिल धमला एक र सागर पुन ५ बनाउँदा आउट भए ।

टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ ओभर १ बलमा सबै विकेट जाँदा एक सय ५५ रन बनाएको हो । नेपालका शरद भेषावकरले चार तथा मेहबुब आलम र बसन्त रेग्मीले दुई दुई विकेट लिए । यस्तै सागर पुन र सन्दिप लामिछानेले एक एक विकेट लिएका थिए । केन्याका लागि कोलिन्स ओबुयाले ४८, इरफान कारिमले ३८ तथा रकिप पटेलले २१ रन बनाए ।
शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपालले सोमबार केन्यालाई ७ विकेटले हराएको हो ।

प्रतिक्रिया दिनुहोस्