गौतमको अन्त्येष्टि



कैलाली, (नेस)
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर मारिएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो।

कञ्चनपुरको दोदानदी किनारमा गौतमको अन्त्येष्टि गरिएको थियो। गौतमको पार्थिव शरीरमा उहाँका पिता खेमलाल गौतमले दागबत्ती दिनुभएको थियो।

उहाँको अन्त्येष्टिअघि धनगढी अस्पतालबाट शवयात्रा गरिएको थियो। शवयात्रामा हजारौं स्थानीय जनताको सहभागिता रहेको थियो। हातमा नेपाली झन्डा बोकेर स्थानीयहरू शवयात्रामा सहभागी भएका थिए। सरकारले गौतमलाई यसअघि नै शहीद घोषणा गरेकाले नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो। नेपाली भूमिमा कल्र्भट निर्माण गर्न लाग्दा भारतीय पक्षले कल्र्भट निर्माणमा अवरोध पुर्याएपछि आनन्दबजार क्षेत्र तनावग्रस्त बन्न पुगेपछि भारतीय सुरक्षाकर्मीले एक्कासी गोली प्रहार गर्दा गौतमको निधन भएको थियो।

गौतमलाई गोली हानी हत्या गरेपछि अहिले पनि आनन्दबजार क्षेत्र अशान्त छ। त्यहाँ दिनहुँ जस्तो स्थानीयले भारतीय ज्यादतिको विरोधमा आन्दोलन गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्