राप्रपासँग लोहनीको छोडपत्र



राजसंस्था र हिन्दु धर्मलाई सत्ता स्वार्थमा प्रयोग गरेको आरोप
काठमाडौं, (नेस)
राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनका क्रममा भएका समझदारीलाई लत्याउने र पार्टीलाई आफ्नो राजनीतिक र अन्य स्वार्थपूर्तिको औजार मात्र बनाउने प्रवृत्ति हावी भएको आरोप लगाउँदै आफूले राप्रपा परित्याग गरेको घोषणा गर्नुभएको छ।

पशुपतिशमशेर राणाले नेतृत्व गर्नुभएको राप्रपा र कमल थापाले नेतृत्व गर्नुभएको राप्रपा नेपाल दुई पार्टी एकीकरण हुनुअघि पार्टीको झन्डा राप्रपा नेपालको र चुनाव चिह्न राप्रपाको हलो हुने समझदारी भएको भन्दै उहाँले वर्तमान नेतृत्वले यो प्रतिबद्धतालाई ठाडै लत्याइदिएको आरोप लगाउनुभएको छ। पार्टी एकीकरणपछि भएको महाधिवेशनपश्चात् गठित राप्रपाको हालै बसेको केन्द्रीय समितिको बैठकले चुनाव चिह्न गाई राख्ने निर्णय गरेको थियो।

उहाँले पार्टी परित्याग गर्दै एकता महाधिवेशन पश्चात् पार्टी विधानलाई समेत उपेक्षा गरिएको आरोप लगाउनुभएको छ।
तपाईं अब नयाँ पार्टी खोल्नुहुन्छ वा के गर्नुहुन्छ भन्ने सञ्चारर्कीहरूको जिज्ञासामा डा. लोहनीले भन्नुभयो– ‘म दालभात खाएर चुप लागेर बस्दिनँ, म सक्रिय हुन्छ। के गर्ने भन्नेबारेमा साथीहरूसँग छलफल भइरहेको भन्दै उहाँले आफ्ना ७५ जिल्लामा रहेका साथीहरूसँग छलफल गरेर मात्र अब आफूले के गर्ने भन्नेबारेमा सबै कुरा सार्वजनिक गर्नेछु। आफूले पार्टी परित्याग गर्नुभन्दा पहिले नै शीर्ष नेताहरू लोकेन्दबहादुर चन्द र पशुपति शमशेर राणालाई जानकारी गराएको उहाँले बताउनुभएको छ।

नेता लोहनीले पार्टी परित्याग गर्दै लगाएको आरोपमा विधानमा पार्टीको नीति निर्माण गर्ने र महत्त्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन हुनुपर्ने र सो समितिको सल्लाह र समझदारीमा गर्नु अनिवार्य भए पनि निर्देशक समितिको गठनसमेत नगरिएको उहाँको भनाइ थियो। ‘पदाधिकारी चयनलगायत मन्त्रिमण्डलमा जाने औचित्यबारे कुनै पार्टीभित्र कुनै पनि छलफल यथार्थमा विधानको यो प्रावधानलाई जानी–जानी उपेक्षा गरियो, लोहनीले भन्नुभयो– ‘पार्टीलाई एक जना व्यक्तिको वा एउटा समूहको झुण्डको स्वार्थपूर्ति गर्ने हतियारको रूपमा प्रयोग गर्न खोजेको प्रस्ट छ।

पार्टीले प्रचण्ड सरकारले पेस गरेको संविधान संशोधन विधेयकमा भारी असन्तुष्टि व्यक्ति गर्दै आएको हो र आवश्यक परे सरकारबाट बाहिरिने प्रस्ट गरेको थियो भन्दै डा. लोहनीले भन्नुभएको छ– ‘अचानक सबै बुँदाहरूमा पार्टीभित्र कुनै छलफल नै नगरी सरकारमा गएको समाचार सुनियो। यसबाट के प्रस्ट हुन्छ भने पार्टी अध्यक्षले मधेस समस्यालाई आफू पदमा पुग्ने हतियारका रूपमा प्रयोग गरेका छन्। साथै उहाँले मधेसी दलहरूले आफ्ना मागको सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाई नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण भएको पनि बताउनुभएको छ।

राजदूत नियुक्तिबारे पनि वर्तमान नेतृत्वको कार्यशैली निराशाजनक भएको भन्दै डा. लोहनीले आफ्नो पार्टीले तीन राजदूतको नाम पठायो तर, यसबारे पार्टीमा अध्यक्ष कमल थापाले कुनै छलफल नगरेको बताउनुभएको छ। लोहनीले भन्नुभएको छ– ‘अझ अचम्म के छ भने हामीले राजदूत राख्ने भनेको देशले राजदूतावास राख्न स्वीकृति पनि दिएको छैन। विवाहको कुरा छिनिएको छैन तर, त्योभन्दा अगाडि जन्ती लिएर जाने ? यस्तो अवस्थामा हामीले पार्टीको तर्फबाट राजदूत सिफारिस गर्नु हास्यास्पद र लज्जास्पद कुरा हो।

एकता अधिवेशनपछि राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एउटा झुण्डको रूपमा मात्र प्रयोग हुन थालेको भन्दै उहाँले राप्रपा नेतृत्वले राजसंस्था र हिन्दु धर्मप्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ।

चिठ्ठीमा के छ ?
श्री अध्यक्षज्यू
राप्रपा
काठमाडौं नेपाल
१. म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको
तपाईंलाई जानकारी गराउँदछु।
२. मैले २५ वर्षदेखि काम गरेको पार्टी छाड्न पर्दा मलाई दुःख लागेको छ। २०४७ सालमा अन्य दलहरूबाट विभिन्न भौतिक र सांघातिक आक्रमणसमेत सहेर यो पार्टीको स्थापनामा सहभागी भएको हँु। त्यस्तै यो पार्टीका थुप्रै दस्तावेजहरू विगतका वर्षहरूमा मैले तयार गरेको हो। हालै मात्र पनि पार्टी एकता अधिवेशनमा पेस भएको एक महत्त्वपूर्ण कार्यपत्र मैले आफैं तयार गरेको हुँ। तर, पार्टीभित्र एकता महाधिवेशन पश्चात् पार्टी विधानलाई उपेक्षा गर्ने, एकता महाधिवेशनको क्रममा भएका समझदारीलाई लत्याउने र सम्पूर्ण पार्टीलाई आफ्नो राजनीतिक र अन्य स्वार्थपूर्तिको औजार मात्र बनाउने प्रवृति हावी भएको छ। यस्ता हरकत स्वीकार गरेर पार्टीभित्र रहन नसक्ने मैले महसुस गरेको छु।
३. एकता महाधिवेशनबाट पारित विधानमा पार्टीको नीति निर्माण गर्न र महत्त्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन हुनुपर्ने र सो समितिमा सल्लाह र समझदारी गर्नु अनिवार्य थियो। साथै एकता माहाधिवेशन अगाडि निर्देशन समितिको गठन नयाँ केन्द्रीय समितिको पहिलो बैठकमै हुने समझदारी भएको हो। तर, निर्देशन समितिको गठन गरिएन र पदाधिकारीको चयनलगायत मन्त्रिमण्डलमा जाने औचित्यबारे पनि कुनै छलफल गरिएन। यथार्थमा विधानको यो प्रावधानलाई जानी–जानी उपेक्षा गरियो। पार्टीलाई एक जना व्यक्तिको वा एउटा सानो झुण्डको स्वार्थपूर्ति गर्ने हतियारको रूपमा मात्र प्रयोग गर्न खोजेको स्पष्ट छ। यस्तो विधानविपरीतका अधिनायकवादी क्रियाकलापहरूसँग मेरो पूर्ण असहमति छ।
४. पार्टीको एकीकरण अगाडि नयाँ पार्टीको झन्डा राप्रपा (नेपाल) को हुनेछ र चुनाव
चिह्न ‘हलो हुने समझदारी भएको हो। यो प्रतिबद्धतालाई पनि ठाडै लत्याइएको छ।
५. पार्टीले प्रचण्ड सरकारले पेस गरेको संविधान संशोधन विधेयकमा भारी असन्तोष व्यक्त गर्दै आएको हो र आवश्यक परे सरकारबाट बाहिरिने स्पष्ट गरेको थियो। राप्रपाका मान्त्रीहरूले समेत यही दृष्टिकोण जनतासमक्ष पेस गरेका हुन्। अचानक यी सबै बुँदाहरूमा पार्टीभित्र कुनै छलफल नै नगरी सरकारमा गएको समाचार टेलिभिजनबाट सुनियो। यसबाट के स्पष्ट हुन्छ भने पार्टीका अध्यक्षले मधेसको समस्यालाई आफू पदमा पुग्ने हतियारको रूपमा प्रयोग गरेका छन्।
६. हाम्रो देशको इतिहासमा नेपालको राष्ट्रियताको जगेर्ना गर्न, देशमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न र नेपाली जनताको स्वभिमान र आत्मसम्मान कायम राख्न नेपाली मधेसीको ठूलो बलिदान र योगदान छ। तर, मधेसी दलहरूले आफ्नो मागको सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन जानुलाई नै प्राथमिकता दिनु दुर्भाग्यपूर्ण छ।
७. आज देश अशान्त छ। राजनीतिक भिडन्तमा सर्वसाधारण मरेका छन्। देशको सीमानामा समेत नेपाली मारिएका छन्। यसबारे केन्द्रीय समिति तुरुन्त बोलाई पार्टीमा व्यापक छलफल गर्नुको सट्टा संकटको फाइदा उठाई सरकारमा स्थान जमाउन र सरकार टिकाउन तयार हुन अवसरवादी चरित्र हो। देशमा संकट देखेपछि त्यसलाई सत्तामा हालिमुहाली गर्ने मौकाको रूपमा प्रयोग गर्न उद्धृत सस्कार र प्रवृत्तिप्रति मेरो गम्भीर असहमति रहेको छ।
८. एकता अधिवेशन पछिको थोरै समयमा पनि देशमा महत्त्वपूर्ण मुद्दाहरू देखिएका छन्। एनसेल कम्पनको कारोबारसँग गासिएको ३५ अरब राजस्व उठेका छैन। आज तामाकोसीको विद्युत् सालाखाला एक मेगावाटका लागि रु. १६ करोड पर्छ। यसको अर्थ नेपालमा ३५ अरबले २ सय मेगावाटको विद्युत् उत्पादन हुन्छ र प्रचण्ड सरकार यो गुमाउन तयार देखिन्छ। यसबारे हालै क्याबिनेटमा अर्थमन्त्रीको मौखिक प्रस्तावबारे हाम्रो पार्टीको भनाइ के रह्यो ? हामीलाई थाहा छैन। के हामी यो नांगो भ्रष्टाचारको समर्थन गर्न सत्तामा जान खोजेको हो ? कर अधिकृतस्तरले गर्ने निर्णय मन्त्रिपरिषद्बाट संसारमा कहीं नभएको मौखिक प्रस्ताव लगेर अख्तियारबाट बच्ने कामलाई समर्थन गर्न के हाम्रो पार्टी सरकारमा गएको हो ? हाम्रो पार्टीका मन्त्रीहरू यसबारे मौन छन् भने पार्टीभित्र यसबारे कुनै छलफल छैन। तर, हालको नेतृत्व सत्तामा नयाँ पद पाउने वित्तिकै हामफाल्न तयार भयो। जुन कारण र नियतले माओवादीका अर्थमन्त्रीले संसदीय समितिको निर्देशनसमेत नमानेर मौखिक ठाडो प्रस्ताव ल्याए त्यसमा हामी किन मतियार हुने ? सत्तामा हामफाल्नेहरूको नियत के हो ? यस्ता प्रश्नलाई उपेक्षा गरेर सत्ता नै सबै थोक हो भन्ने मान्यतासँग मेरो सहमति छैन।
९. राजदूत नियुक्तिबारे पनि नेतृत्वको कार्यशैली निराशाजनक छ। परराष्ट्र मन्त्रालयलाई समेत थाहा नभई हाम्रो सहभागिता रहेको प्रचण्ड सरकारले राजदूत घोषणा गर्यो। भ्रष्टाचारको आरोप लागेकोलाई फेरि फिर्ता लियो र त्यसपछि पनि परिवर्तन गर्यो। हाम्रो पार्टी सत्तामा छ तर किन मौन भएर बस्छ, के यो अराजकता र अनियमिततालाई हाम्रो पाटीको समर्थन छ र ?
१०. हाम्रो पार्टीले तीन राजदूतको नाम पठायो तर यसबारे पार्टीको कुनै निकायमा अध्यक्षले छलफल गरेका छैनन्। यसको मतलब राप्रपाकै अध्यक्षको घरायसी अड्डा हो ? अझ अचम्म के छ भने राष्ट्रिय छापामा आएअनुरूप हामीले राजदूत राख्ने भनेको देशले राजदूतावास राख्न स्वीकृति पनि दिएको छैन। विवाहको कुरो छिनिएको छैन तर त्योभन्दा अगाडि जन्ती लिएर जाने ? यस्तो अवस्थामा हामीले पार्टीको तर्फबाट भनी राजदूत सिफारिस गर्नु हास्यास्पद र लज्जास्पद कुरा हो। अझ यसबारे पार्टीमा कुनै छलफल नै भएको छैन। दासहरूको जमात जस्तो पार्टीलाई व्यवहार गर्ने वर्तमान नेतृत्वको शैली र संस्कार मलाई मान्य छैन।
११ माथिका मैले देखाएका विभिन्न कारणहरूको परिवेशमा एकता अधिवेशन पछिको राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एक झुण्डको रूपमा मात्र प्रयोग हुन थालेको छ। राजसंस्था र हिन्दु धर्मप्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थका लागि प्रयोग हँुदै छ। भ्रष्टाचारप्रति आँखा चिम्लने संस्कारको जग बसाल्ने प्रयास भइरहेको छ। यो प्रवृति मलाई मान्य छैन। त्यसैले म आजबाट राप्रपाबाट अलग भएको छु।
राप्रपामा देखिएको नितान्त अवसरवादी र अराजक प्रवृत्तिबाट पार्टी प्रतिष्ठा ध्वस्त हँुदै गइरहेको छ। यो नेतृत्वबाट राष्ट्रियताको सम्वद्र्धन हुँदैन। भ्रष्टाचारमाथि नियन्त्रण हुँदैन र नेपाली जनताको समृद्धिका लागि कुनै योगदान हुँदैन। देश र जनताको हितका लागि कार्य गर्न नसक्ने नेतृत्व रहेको पार्टीमा आबद्ध भइरहनु देश र जनताप्रति विश्वास घात गर्नु हो। यसर्थ म राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुनुपरेको हो।
भविष्यमा देशमा समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र, प्रगतिशील उदारवाद, हिन्दु पहिचान र संसद्द्वारा अनुमोदित राजसंस्थाप्रति प्रतिबद्ध रहेर देश र जनताको हक–हित, अधिकार र स्वभिमानको संरक्षण गर्दै देश विकासमा निरन्तर सक्रिय रहनेछु।
डा. प्रकाशचन्द्र लोहनी
२९ फागुन २०७२

प्रतिक्रिया दिनुहोस्