“हराएका ८ सैनिक पत्ता लगाइदेऊ”



विकास भट्टराई, काठमाडौं
सैनिक मुख्यालयले आफ्ना ८ जना सैनिकहरू माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरूको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको पाइएको छ।

आयोग स्रोतले दिएको जानकारीअनुसार माओवादीबाट बेपत्ता पारिएका भनिएकाहरूमा मुसेपानी वडा नं ७ डडेलधुराका मानबहादुर साउद तथा पञ्चमूल स्याङ्जाका पदमप्रसाद तिवारीलगायतको अवस्था पत्ता लगाउन माग गर्दै नेपाली सेनाको मुख्यालयले पत्र पठाएको हो। यसै गरी खैराघाती महेन्द्रनगर कञ्चनपुरका जगबहादुर चन्द, उर्लाबारी झापाका उदयकुमार श्रेष्ठ, बतासे वडा नम्बर ६, सिन्धुपाल्चोकका गेदबहादुर बस्नेत, बैतडीका प्रेमसिंह धामीलाई पनि खोजी गरिदिन माग गर्दै नेपाली सेनाबाट आयोगलाई लिखित रूपमा माग गरिएको छ। सैनिक मुख्यालयबाट खोजी कार्य गरिदिन माग गर्दै आयोगमा पत्र पठाइएकाहरूमा रोदीदेवल वडा नम्बर ६, बैतडीका देवबहादुर चन्द र त्रियुगा नगरपालिका वडा नम्बर १ उदयपुरका लीला श्रेष्ठ रहेका छन्।

मुख्यालयबाट पठाइएको पत्रमा तत्कालीन विद्रोही पक्षबाट बेपत्ता बनाइएकाहरूको विवरण पठाइएको र उनीहरूको अवस्था पत्ता लगाउन सो पत्रमा अनुरोध गरिएको आयोग स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो।पत्रमा उनीहरू नेपाली सेनामा कार्यरत रहँदा तत्कालीन विद्रोही पक्षबाट बेपत्ता बनाइएको उल्लेख गरिएको छ। उनीहरू नेपाली सेनाको कुन कार्यालयमा कार्यरत रहँदा बेपत्ता बनाइएको हो भन्नेबारेमा पनि पत्रमा खुलाइएको छ।

प्रतिक्रिया दिनुहोस्