अझै दुई दिन मौसम गडबड



काठमाडौं, (नेस)
पश्चिमी वायुको प्रभावले मुलुकको मध्य र पश्चिमी क्षेत्रमा हल्का वर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ।

भारतीय भू–भागबाट बुधवार नेपाल भित्रिएको पश्चिमी वायु पूर्व सर्नेक्रममा शुक्रवार अधिकांश ठाउँको मौसम बदलिएर मध्य र पश्चिमी क्षेत्रहरूमा वर्षाको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभाव अझै बाँकी रहेकाले अझै २ दिनसम्म मौसम बदलिने र हल्का वर्षा हुने महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।

‘पूर्वी भेगमा वर्षा हुने संभावना न्यून छ, पूर्वका अधिकांश भेगको मौसम अझै दुई दिनसम्म प्रष्ट रुपमा खुल्ने संभावना छैन, मध्य र पश्चिमी भेगमा भने हल्का वर्षाको संकेत विकास भइरहेको छ’ –उहाँले भन्नुभयो।

अहिलेको वर्षा हिउँद यामको अन्त्यतिरको भएकाले केही दिनभित्रैमा प्री मनसुनी गतिविधी सक्रिय हुने चट्याङ पर्ने हावाहुरी र मेघ गर्जन सहित क्षणिक वर्षाको गतिविधी दोहोरिने श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्