मतपत्रका लागि सेना परिचालन



ईश्वरराज ढकाल, काठमाडौं

मतपत्र छपाईको लागि चैत २ गते बुधबार बाट नेपाली सेना परिचालन हुने भएको छ। जनक शिक्षा सामग्रीको सेक्युरिटी प्रेसमा छपाई गर्न लागेको मतपत्रको सम्पुर्ण सुरक्षाको लागि नेपाली सेना केन्द्रमा बस्न लागेको हो। बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको मतपत्र छपाई गर्ने कार्य नसकुन्जेल सेनाको टोली जनक शिक्षाको छापाखानामै बस्नेछ। स्रोतका अनुसार करिब डेढ सय सेना प्रेस परिसरमा खटिनेछन्। मतपत्र छपाई र ढुवानी पुरा नहुन्जेलसम्म नेपाली सेना प्रेस भित्रै बस्ने भएको छ। छपाई अवधीभर अन्य कसैलाईपनि प्रेस परिसरमा प्रवेशमा रोक लगाइने भएको छ।

निर्वाचन आयोगले २०६४ र २०७० सालमा उपलब्ध गराएको चार र जनक शिक्षा संग रहेको ३ वटा गरी सातवटा प्रेसमा करिब १ करोड ७० लाख हाराहारीमा मतपत्र छपाई गरिने भएको छ। नेपाली सेनाका सहप्रवक्ता महासेनानी रामनाथ ढुंगानाले निर्वाचनकार्यका लागि नेपाली सेना तयार रहेको र निर्वाचन आयोगले बोलाउनासाथ परिचालित हुने जानकारी दिनुभयो।

उहाले भन्नुभयो–अहिले कक्षा १२ को प्रश्नपत्र छपाइको लागि सुरक्षा दिइरहेका छौ, त्यसपछि निर्वाचनको लागि हुनसक्छ। उहाले आयोगले अहिलेसम्म मतपत्र छपाई गर्न सुरक्षाको लागि आवश्यक जनशक्तीको बारेमा जानकारी नदिएको बताउनुभयो। हामी निर्वाचन आयोगले भन्नासाथ काम गर्न जान तयार छौ, त्यसको लागि सेना तयारी हालतमा रहेको छ–उहाले भन्नुभयो। मतपत्र छपाईको लागि केन्द्रले पेश्की वापत करिब ५ करोड रुपिया माग गरेको छ। चैत १ गतेदेखि नेपाली सेना खटिने र ३ गतेबाट मतपत्र छपाई शुरु हुने भएको छ। जनक शिक्षाका महाप्रबन्धक महेश तिमल्सिनाले मतपत्र छपाईको लागि सम्पुर्ण तयारी पुरा भैसकेको जानकारी दिनुभयो। उहाले भन्नुभयो–हामीले छपाई गर्न थालेपछि निर्वाचन आयोगले थप सुचना दिनेछ।

स्रोतका अनुसार केन्द्रले मतपत्र छपाई गर्न करिब ४ सय टन कागज केन्द्रमा खसाली सकेको छ। निर्वाचन आयोगले शुक्रबार निर्वाचन चिन्ह, रङ लगायतका विषयमा फाइनल गरेपछि छपाई शुरु गर्ने तयारी गरेको छ। केन्द्रले करिब एक महिना १५ दिनभित्र मतपत्र छपाई गर्ने काम पुरा गर्ने गरी तयारी गरिरहेको छ। केन्द्रले २४ सै घण्टा मेशिन संचालन गरी तोकिएकै समयमा मतपत्र छपाई पुरा गर्ने योजना अघि बढाएको छ। केन्द्रले मतपत्र छपाई गर्न थालेपछि कक्षा ११ को प्रश्नपत्र छपाईमा समस्या हुने भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका परिर्वतन गरेको थियो । यसअघि बैशाख २४ गतेदेखि तोकिएको परीक्षा निर्वाचन र प्रश्नपत्र छपाइमा ढिलो हुने कारणले सारेको थियो।

मतपत्र छपाई गर्न थालेपछि आगामी वर्ष विद्यालय तहको पाठ्यपुस्तकको अभाव हुने प्रायः निश्चित भएको छ। केन्द्रले पुस्तक र मतपत्र संगसंगै छपाई गर्ने दावी गरेतापनि त्यो सम्भव छैन। हामी कसरी हुन्छ पुस्तक र मतपत्रको व्यवस्थापन गर्नेछौ–केन्द्रका महाप्रबन्धक तिमल्सिनाले नोपाल समाचारपत्रसंग भन्नुभयो। उहाका अनुसार साझा प्रकाशन र निजी प्रेसलाई जिम्मा दिएर भएपनि तोकिएकै समयमा पुस्तक छपाई सम्पन्न गर्ने जानकारी दिनुभयो। विगत वर्षको भन्दा यो वर्ष सहज देखिएको छ। हामी तोकिएकै समयमा पाठ्यपुस्तक छपाई गर्नेछौ–उहाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्