एमाले मेची–महाकाली अभियान आजबाट हेटौंडामा तयारी पूरा



हेटौंडा, (नेस)
राजविराज घटनापश्चात् तीन दिनका लागि स्थगित भएको नेकपा एमालेको मेची–महाकाली अभियान आज शुक्रबारदेखि हेटौंडाबाट पुनः शुरू हुने भएको छ।

हेटौंडामा हुने आमसभा तथा विभिन्न कार्यक्रमका विषयमा नेकपा एमाले प्रचार विभाग मकवानपुरले हेटौंडामा बिहीबार पत्रकार सम्मेलन गरी अभियानका विषयमा जानकारी दिएको हो।

एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलले राजविराज घटनापश्चात् शुरू हुन लागेको अभियानलाई भव्य ढंगले सम्पन्न गर्न तयारी पूरा गरिएको बताउनुभयो। अभियानका लागि केन्द्रबाट आउने सम्पूर्ण पाहुनाको बासको तयारी पूरा गरिएको बताउँदै सिग्देलले सभालाई एमाले अध्यक्ष केपी ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने बताउनुभयो।

हेटौंडाको भुटनदेवी माविको मैदानमा हुने आमसभा दिउँसो २ बजे शुरू हुने उहाँको भनाइ छ। आमसभाका लागि मकवानपुरका साथै छिमेकी जिल्लाबाट पनि सहभागी हुने उहाँले बताउनुभयो। धेरै अतिथिहरू सडकमार्ग हुँदै हेटौंडा आउने हुँदा चौकीटोलबाट र्यालीको आयोजना हुने उहाँको भनाइ छ। त्यसबाहेक हेटौंडा उपमहानगरपालिकाका सबै क्षेत्रबाट सम्बन्धित वडा कार्यालय, क्षेत्रीय कार्यालयले र्याली निकालेर हेटौंडा आउने तयारी भएको उहाँले बताउनुभयो।

एमाले केन्द्रीय सदस्य केदार न्यौपानेले हेटौंडामा हुने आमसभा भव्य हुने बताउनुभयो। संविधान कार्यान्वयनका लागि सभाले थप दबाब दिने भन्दै उहाँले आमसभामा सहभागी हुन आग्रह गर्नुभयो। एमाले मकवानपुर सचिव एकलाल श्रेष्ठले सभामा करिब २० हजार जनसहभागिता हुने लक्ष्य राखिएको बताउनुभयो। मञ्चसहित सांस्कृतिक कार्यक्रम, स्वयंसेवक परिचालनलगायत तयारी सम्पन्न भइसकेको उहाँले बताउनुभयो।

हेटौंडामा आमसभापश्चात् २८ गते केन्द्रीय टोलीलाई मकवानपुर र चितवनको लोथरसम्म बिदाइ गरिनेछ। अध्यक्ष ओलीद्वारा हेटौंडा–८ मा एमाले वडा कार्यालय भवन शिलान्यास तथा हेटौंडाको एकमात्र टिभी टिम टेलिभिजनको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्