भारतीय सुरक्षाकर्मीको गोली लागेर नेपालीको मृत्यु



बिहीबार भारतीय सुरक्षाकर्मीले नेपालीमाथि आक्रमण गरेपछि त्यसको प्रतिकार गर्दै स्थानीय आनन्दबजार बासीहरू । तस्वीरः नेस

हेमन्त पौडेल, कैलाली
कञ्चनपुरको दक्षिणपूर्वी क्षेत्रको पुनर्वास नगरपालिका–८, आनन्दबजारनजिक भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा सोही ठाउँका गोविन्द गौतमको मृत्यु भएको छ। गौतमको मृत्यु भएसँगै कञ्चनपुर बिहीबार दिनभर तनावग्रस्त रह्यो।

नेपाल–भारत सीमा क्षेत्रनजिक पुनर्वास नगरपालिकाले निर्माण गर्न लागेको कल्भर्टको विषयलाई लिएर दुवै पक्षबीच करिब एक महिनादेखि विवाद हुँदै आएको थियो। दशगजा क्षेत्रनजिक कल्भर्ट निर्माण गर्नमा भारतीय पक्षबाट रोक लगाएपछि नेपालीहरू आक्रोशित हुँदै आएका थिए।

दुई साताअघि भारतीय र नेपाली पक्षबीच भएको सहमतिअनुसार नेपालतर्फको आनन्दबजार नजिकै कच्ची कल्भर्ट निर्माण गर्ने सहमति भएको थियो। सहमति तोड्दै भारतीय पक्षबाट नेपालीहरूलाई दुःख दिन लागेपछि नेपालीहरूले त्यसको विरोध गरेका थिए।

नेपाली बस्तीमा भारतीय एसएसबीको टोली आई नेपालीमाथि दुव्र्यवहार गर्ने गरेको र आनन्दबजारनजिककै निर्माण गरेको अस्थायी कल्भर्ट भत्काउन खोजेपछि बिहीबार नेपालीहरूले प्रतिवाद गर्दा भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा गौतमको मृत्यु भएको थियो।

सीमा क्षेत्रमा पुगेका सयौं नेपालीले कल्भर्ट निर्माण गरेको ठाउँ नेपाली भूमि भएको दाबी गरेपछि भारतीयहरूले बल प्रयोग गरेको स्थानीय बासिन्दा वासु घिमिरेले जानकारी दिनुभयो। विरोध जनाउन सीमामा पुगेका नेपालीको भीड तितरबितर पार्न पहिला हवाई फायर गरेको र पछि गोली नै चलाएको प्रत्यक्षदर्शीसमेत रहनुभएका घिमिरेले बताउनुभयो।
हवाई फायरपछि भागदौड भएको थियो। भाग्नेक्रममा भारतीय सुरक्षाकर्मीले चलाएको गोली गौतमको कम्मरमा लागेको थियो। गोली लागेर घाइते भएका उहाँलाई उपचारका लागि धनगढीस्थित सीपी अस्पतालमा पुर्याइएको थियो।

आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरूले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद शुरू भएको थियो। भारतीयहरूको धम्कीको विरुद्धमा बिहीबार बिहान ९ बजेदेखि नै सीमा बन्द गराएर विरोधमा उत्रिएका थिए। सीमा क्षेत्रमा नेपालीहरू विरोधमा उत्रिएपछि भारतीय एसएसबीको टोली सो क्षेत्रमा पुगेका थियो। घटनापछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र प्रहरी प्रमुख एसपी प्रकाश चन्दसहितको टोली सो क्षेत्रमा पुगेको थियो।

स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मीसहित घटनास्थल पुगेका कञ्चनपुर प्रहरीका एसपी चन्दले भारतीय पक्षसँग छलफल गरी वार्ताको पहल गर्नुभएको थियो। घटनास्थलमा भारतीय र नेपाली पक्षको उच्च टोली आउने एसपी चन्दले जानकारी दिनुभयो।

स्थानीय श्याम गुरुङको घरबाट भारतीयहरूले बिहीबार दिउँसो बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडासमेत लुटेर लगेको प्रत्यक्षदर्शीले बताए। गुरुङको घरमा रहेको एउटा मोटरसाइकलसमेत भारतीयले लुटेर लगेको स्थानीयले बताए। कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने आनन्दबजार क्षेत्रका अन्य घरहरूमा पनि एसएसबीसँगै छिरेका भारतीयहरूले तोडफोड गरेका थिए।

एसएसबीको आडमा भारतीयहरूले नेपालीको घरमा तोडफोड गर्दा नेपाल प्रहरी भने मुकदर्शक बनिरहेको स्थानीयले गुनासो गरे।

प्रहरी निरीक्षकको कमान्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी मुकदर्शक बनेको र नेपालीमाथि ज्यादती हुँदा मुकदर्शक बनेको गुनासो स्थानीयको छ। घटनामा भारतीयहरूले हानेको ढुंगाले लागेर बेलौरी सीमा पोस्टका सशस्त्र प्रहरी निरीक्षक राम खत्रीसमेत घाइते भएका छन्। उनको मुखमा चोट लागेको छ। त्यस्तै, एक जना प्रहरी नायब निरीक्षकलाई समेत चोट लागेको छ।

घटनाको विरोधमा युवा तथा विद्यार्थी संगठनहरूले धनगढीमा साँझ प्रदर्शन गरेका छन्। घटनापछि साँझ अबेरसम्म प्रमुख जिल्ला अधिकारीसहितको टोली आनन्दबजारमा रहेको थियो। सो क्षेत्रका सांसद देवानसिंह विष्ट पनि घटनास्थल पुग्नुभएको थियो। सुदूरपश्चिम प्रहरी प्रमुख रोमेन्द्रसिंह देउजाका अनुसार अहिले घटनास्थल शान्त बन्दै गएको बताउनुभयो। दुई देशको समस्या भएकाले दुवै देशको सर्भे टोली आएर नापनक्सा गरेर समस्या समाधान गर्ने उहाँले बताउनुभयो। प्रहरी स्रोतका अनुसार गोली कुन पक्षबाट चलाएको थियो भन्ने विषयमा छानबिन गरिने भएको छ र एक साताका लागि नेपाल–भारत नाका बन्द गर्ने सहमति भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्