उपभोग्य वस्तु अभाव त हुँदैन ?



दीपेन्द्र थापा, काठमाडौं
हेमन्त जोशी
तराईमा तनाब बढेपछि अत्यावश्यक सामग्रीको अभाव त हुँदैन भन्ने प्रश्न जनस्तरबाट उठ्न थाले पनि सरकारी अधिकारीहरूले भने मौज्दात यथेष्ट रहेकाले आत्तिनुनपर्ने जनाएका छन्। केही दिनदेखि तराई मधेसमा शुरू भइरहेको शृंखलाबद्ध बन्द हडतालका कारण अत्यावश्यक वस्तुबाहेक अन्य उपभोग्य वस्तुको मौज्दात राख्न नपर्ने र पर्याप्त मात्रामा मौज्दात रहेको आपूर्ति मन्त्रालयले जनाएको छ।

नेपाल आयल निगमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको हिजो र अस्तिको तराई बन्दका बाबजुद पनि सहजरूपमा आपूर्ति भएको बताएको छ। निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार हाल निगमसँग क्षमताअनुसारको मौज्दात रहेकाले संयम रहन सर्वसाधारणमा अपिल गरेको छ। यातायात र सहज आवगमनमा अवरोध आउने अवस्था आएमा स्कर्टिङको माध्यमबाट पनि आपूर्ति गर्ने निगमले बताएको छ।

नेपाल आयल निगमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको तराई बन्दका बाबजुद पनि सहजरूपमा आपूर्ति भएको बताएको छ। निगमका प्रवक्ता सीताराम पोखरेलका अनुसार हाल निगमसँग क्षमताअनुसारको मौज्दात रहेकाले संयम रहन सर्वसाधारणमा अपिल गरेको छ। यातायात र सहज आवागमनमा अवरोध आउने अवस्था आएमा स्कर्टिङको माध्यमबाट पनि आपूर्ति गर्ने निगमले बताएको छ।

भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थ लोड भएका टइंकर, ट्रक, तथा एलपी ग्यास रक्सौल र बरौनीबाट सहजरूपमा नै लोड भएर फर्केको निगमले जनाएको छ। निगमले मंगलबार पठाएको सबै बुलेटहरू लोड भएर हेटौंडा आइपुगेका छन्।

निगमका प्रवक्ता पोखरेलले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘हालसम्मको अवस्था सहज रहेकाले संयम रहन हामी सर्वसाधारणमा अपिल गर्दछौं।

निगमसँग एलपी ग्यासको मौज्दात १६ हजार मेट्रिक टन रहेको छ। निगमले ६ महिनाका लागि भनेर एकैचोटी इन्डियन आयल कर्पोरेसनबाट आयात गर्ने गरेको छ।

प्रवक्ता पोखरेलले निजी क्षेत्रका ग्यास उद्योगहरूमा मौज्दात के कस्तो छ भन्ने तथ्यांक निगमसँग नभए पनि निरन्तर बजार अनुगमनले कृत्रिम अभावको स्थिति आउन नदिने बताउनुभयो।

निगमको थानकोट डिपो प्रमुख नेत्रप्रसाद काफ्लेका अनुसार हाल डिपोको न्यूनतम क्षमता बराबर नै मौज्दात रहेको छ।

पेट्रोल १ हजार२ सय किलो लिटर भण्डारण क्षमता रहेकामा १ हजार १ सय किलो लिटर र डिजेल ८ हजार ४ सय किलोलिटर भण्डारण क्षमता रहेकामा ७ हजार ४ सय किलो लिटर डिजेल मौज्दात रहेको छ।

त्यस्तै मंगलबार रातिसम्म ६ सय ५० किलोलिटर तेल रक्सौल नाकाबाट लोड भएकामा २ सय किलोलिटर पेट्रोल र ४ सय किलोलिटर डिजेल उपत्यका भित्रिइसकेको छ।

बुधबार पनि थप तेल आयातका लागि टइंकरहरू नाका पारी पुगी लोड भइसकेको र यातायात वातावरण सहज भएमा बिहीबार बिहानसम्म काठमाडौं आइपुग्ने काफ्लेले बताउनुभयो।

मंगलबार राति हेटौंडासम्म स्कर्टिङ गरेर आयात गरिएको उहाँले बताउनुभयो। उपत्यकामा सामान्य अवस्थामा पेट्रोलको माग दैनिक ४ सयदेखि ४ सय ५० किलोलिटर रहेको छ भने डिजेलको माग ४ सय ५० देखि ६ सय किलोलिटर रहेको छ।

हालको मौज्दातअनुसार पेट्रोलले अधिकतम ३ देखि ४ दिन र डिजेलले अधिकतम ७ दिन उपत्यकाको मागलाई धान्न सक्छ। तर मंगलबार र बुधबार औसतभन्दा निकै बढी माग भएको निगमले जनाएको छ।

उता खाद्य संस्थानको मौज्दातको अवस्था सबैभन्दा बलियो छ। खाद्य संस्थानको तथ्यांकअनुसार अहिले देशका विभिन्न डिपोहरूमा १ लाख २१ हजार १ सय १६ क्विन्टल चामल मौज्दात रहेको छ। दुर्गम पहाडी जिल्लामा २४ हजार २३ क्विन्टल, सुगम पहाडी जिल्लामा ११ हजार १ सय ८७ क्विन्टल, काठमाडौं उपत्यकामा ३६ हजार ६ सय ६० क्विन्टल र तराई क्षेत्रमा ९७ हजार ३ सय १३ क्विन्टल चामल मौज्दात रहेको छ।

२३ वटा दुर्गम जिल्लाहरूमा चालु आर्थिक वर्षमा कोटामार्फत छुटइएको १ लाख ६१ हजार ८ सय क्विन्टल चामल अझै बाँकी रहेकाले जिल्लाको मागअनुसार संस्थानले सहजै उपलब्ध गराउन सक्ने प्रवक्ता शंकर सापकोटाले जानकारी दिनुभयो। त्यसै गरी संस्थानसँग डेढ लाख क्विन्टलभन्दा बढी धान मौज्दात रहेको र यो मौज्दातले ५⁄६ महिनासम्म माग धान्न सक्ने उहाँले दाबी गर्नुभयो।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले आगामी स्थानीय चुनावलाई मध्यनजर गर्दै आफूअन्तर्गतका डिपोहरूलाई आवश्यक संख्यामा मौज्दात राख्न निर्देशन दिएको कर्पोरेसनका सहायक महाप्रबन्धक तथा प्रवक्ता कुमारराज भण्डारीले बताउनुभयो।आन्तरिक परिचालन र ढुवानीमार्फत गाउँगाउँमा पनि अभाव हुन नदिन कर्पोरेसन सचेत रहेको उहाँले जानकारी दिनुभयो।

चिनीको हकमा भने निजी क्षेत्रमार्फत हुने व्यापार सन्तुलन मिलाउन मात्रै कर्पोरेसनको भूमिका रहनेभएकोले बजार मागको अवस्था हेरेर कर्पोरेसनले वितरण गर्ने गरेको छ।

चिनीको माग प्रतिमहिना १५ हजार टन रहेको छ। जसमध्ये हालको अवधिसम्ममा निजी क्षेत्रले नै १ लाख ३० हजार मेट्रिक टन उत्पादन गर्ने गरेको भए पनि बजारमा अभाव देखिएको र मूल्यवृद्धि पनि निरन्तर भइरहेकाले साल्ट ट्रेडिङले नै ५० हजार मेट्रिक टन आयात गर्न लागेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो।

त्यस्तै साल्ट ट्रेडिङसँग हाल १ हजार मेट्रिक टन मात्र चिनीको मौज्दात रहेको छ। जुन परिमाणले अभाव देखिएको अवस्था अधिकतम १ महिना बजारको माग धान्न सक्छ। तर यस्तो बेला निजीक्षेत्रहरूले कृत्रिम अभाव पनि सृजना गर्नसक्ने भएकाले सम्बन्धित निकायले दैनिक अनुगमन गर्नुपर्ने भण्डारीले बताउनुभयो।
आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठका अनुसार आपूर्ति मन्त्रालयले यस वर्ष विगतमा जस्तो लामो समयसम्म आपूर्ति नहुने अवस्था आउन नदिन विशेष सजगता अपनाएको छ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो– ‘हामी जुन अवस्था आउँछ त्यही अवस्था हेरेर अगाडि बढ्ने रणनीति रहेको छ। हामीले हाम्रो क्षमताअनुसारको मौज्दात पूरा राखेका छौं र सबैखाले दैनिक उपभोग्य सामग्रीमा हामीले विगतबाट पाठ सिकेर सचेतना अपनाएका छौं। हालसम्मको हाम्रो लोड र आयातमा सहज वातावरण नै रहेको छ। सरकारले जे पर्छ त्यही अवस्थाको रणनीति अपनाएर तत्कालको समस्या समाधान गर्छ।

विगतका मधेस आन्दोलन, नाकाबन्दी, भूकम्पका बेला देखिएको अत्यावश्यक दैनिक उपभोग्य वस्तुको अभावलाई बुझेका सर्वसाधारणलाई अहिलेको अवस्थामा भने त्यस्तो खालको कुनै पनि समस्या आउन नदिने सम्बन्धित निकायहरूले बताएका छन्।

बजारमा उपभोग्यवस्तुको माग बढ्दा निजीक्षेत्र र केही व्यापारीहरूबाट कृत्रिम अभावको अवस्था सृजना हुन नदिन नियमनकारी पक्ष र उपभोक्तावादी संस्थाको ध्यान जानु पनि उत्तिकै जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्