मोर्चाद्वारा सातदिने अल्टिमेटम



बीपी साह, काठमाडौं
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले सात दिनभित्र परिमार्जनसहित संविधान संशोधन गर्न र घोषित स्थानीय निकायको निर्वाचन स्थगन गर्न सरकारलाई ‘अल्टिमेटम’ दिएको छ। सात दिनभित्र माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी गठबन्धनले दिएको हो। मोर्चाले आज बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर लिखित अल्टिमेटम दिने बताइएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको मेची–महाकाली अभियानका क्रममा प्रहरीले चलाएको गोलीले तीन जना मारिएपछि मृतकहरूको आडमा गठबन्धनले संशोधन र निर्वाचन स्थगनको माग गरेको हो। गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की बारम्बार दिँदै आए पनि फिर्ता लिन सकेको छैन।

मंगलबार तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको बैठकमा सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा चर्चा चले पनि नेताहरूले समर्थन फिर्ता लिनबाट आनाकानी गरेका थिए। त्यसपछि नेताहरूले मध्यमार्ग खोज्दै पुनः सरकारलाई धम्की दिए। गठबन्धनले शुक्रबार नेपाल बन्दको आह्वानसमेत गरेको छ। गठबन्धनको बन्दलाई डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले पनि समर्थन गर्ने गठबन्धनका नेताहरूले दाबी गरेका छन्।
नेपाल समाचारपत्रसँग कुराकानी गर्दै सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले भन्नुभयो– ‘सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल भयो।’

तर तत्कालै फिर्ता लिनुभन्दा पनि एक हप्ताको समय दिइएको छ।’ –कर्णले गठबन्धनद्वारा नेपाल बन्द आह्वान गरिएको बताउनुभयो।

गठबन्धनका प्रवक्ता डा. ओम गुरुङका अनुसार फागुन २६ गते देशभर विरोध सभा र काठमाडौंमा १२ बजे शान्ति वाटिकामा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ भने २७ गते नेपाल बन्दको कार्यक्रम रहेको छ।

त्यस्तै, सप्तरी घटनाको विरोधमा संयुक्त राष्ट्र संघसहित मानव अधिकारवादीहरूको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। गठबन्धनले मृतकलाई शहीद घोषणा र क्षतिपूर्तिको माग गरेको छ भने सप्तरी घटना एमाले नेताहरूको उतेजनाका कारण भएको आरोप गठबन्धनले लगाएको छ।

प्रतिक्रिया दिनुहोस्