मोर्चाका कारण सप्तरी घटनाः एमाले ‘नेतृत्वको सामूहिक हत्या प्रयास’



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेले सप्तरीको राजविराजमा भएको घटनाको जिम्मेवारी मधेसी मोर्चाले लिनुपर्ने बताएको छ। एमालेले राजविराजको घटना मोर्चा सम्बद्ध मानिसहरूको जघन्य आपराधिक प्रवृत्तिका कारण भएकाले मोर्चाले नै सबै जिम्मेवारी लिनुपर्ने बताएको हो।

एमाले नेतृत्वको सामूहिक हत्याको सुनियोजित प्रयाससमेत गरिएको बताउँदै एमालेले कुनै पनि व्यक्ति र संगठनले शान्तिपूर्ण रूपमा सभा सम्मेलनका गतिविधि गर्न पाउने नैसर्गिक अधिकारमाथि मधेसी मोर्चाले धावा बोलेको बताएको छ।

एमालेले शान्तिपूर्ण अभियान चलाउँदा त्यसलाई बिथोल्न धम्की दिने, कार्यक्रम रोक्नका लागि त्रास फैलाउने, नेता कार्यकर्तामाथि आक्रमण गर्ने कालोमोसो दलेर अपमान गर्ने मोर्चाको कार्यप्रति भत्र्सना गरेको छ। राजविराजमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा परी तीन जनाको मृत्यु भएपछि तीन दिनका लागि अभियान स्थगित गरेको एमालेले मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमार्फत् एमालेको संयमताका कारण ठूलो घटना हुनबाट रोकिएको बताएको छ।

एमाले महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टीले द्वन्द्व सृजना गर्न नभई मधेसमा पार्टीप्रति फैलाइएको भ्रम चिर्नका लागि अभियान शुरू गर्दा लोकतन्त्रको मूल्यमान्यताको खिल्ली उडाउँदै मधेसी मोर्चाले अवरोध गरेको बताउनुभयो। ‘राजविराजमा तनाव र दबाबको बीच पनि कार्यक्रम गरियो, कार्यक्रम बिथोल्न ५० वटाभन्दा बढी पेट्रोल बम प्रहार गरियो’, उहाँले भन्नुभयो– ‘जनताबाट अलगिएकाहरूले नयाँ द्वन्द्व सृजना गर्न खोजे।’

मधेसी मोर्चाको अवरोध लोकतन्त्रमाथिको हमला भएको बताउँदै महासचिव पोखरेलले आफ्नो पार्टी अराजकता र आतङ्क फैलाउनेका विरुद्ध दृढतापूर्वक लाग्ने बताउनुभयो।

‘स्थानीय प्रशासनको सुझबुझको कारण ठूलो घटनाबाट रोकियो तर उनीहरूलाई नै सरकारले फिर्ता बोलायो’, उहाँले भन्नुभयो– ‘पार्टीको घोषित कार्यक्रम जारी छ, कुनै अवरोध र विरोधले पछाडि हटिनेछैन।’ उहाँले मेची–महाकाली अभियानले एमाले उत्तेजित नभएको बताउँदै झन् बलियो भएको बताउनुभयो।

सचिव प्रदीप ज्ञवालीले कार्यक्रममा अवरोध गर्ने र बम बिछइउने मधेसी मोर्चाले राजविराज घटनाको जिम्मेवारी लिनुपर्ने बताउनुभयो। उहाँले जस्तोसुकै अवरोध भए पनि स्थानीय तहको निर्वाचन हुने दाबी गर्दै तराईमा धरातल नभएका मधेसी मोर्चाको विरोधको कुनै औचित्य नभएको बताउनुभयो।

‘मोर्चा मधेसका जनताबाट नाङ्गिएका छन्, ब्लाकमेलिङ गरेर राजनीति गर्दै आएका छन्’, सचिव ज्ञवालीले भन्नुभयो– ‘चुनावका लागि सरकारले खुट्टा कमाउनुहुँदैन।’

मेची–महाकाली अभियान तीन दिनका लागि स्थगित गरेर बसेको एमालेले सरकारलाई सप्तरी घटनाको छानबिन गरी सत्य–तथ्य बाहिर ल्याउन माग गरेको छ।

एमाले उपाध्यक्ष भीम रावलले राजविराजमा घटेको घटनाप्रति आफ्नो पार्टी स्तब्ध भएको बताउँदै घटनाको मुख्य जिम्मेवार मधेसी मोर्चा भएको बताउनुभयो।‘मोर्चाले आफ्ना कार्यकर्तालाई शान्तिपूर्ण सभामा जाइलाग्न अलोकतान्त्रिक कदम उठाउनु एमालेमाथिको मात्र होइन, मानव अधिकार र सिंगो लोकतन्त्रमाथिको प्रहार हो।’ –उहाँले भन्नुभयो।

अरूका एजेन्डा बोकेर हिँडेकाले जहिले पनि जनतालाई मार्न उचाल्ने गरेको आरोप लगाउँदै उपाध्यक्ष रावलले आवरणमा मोर्चा देखिए पनि उनीहरूको सहयोगमा बाहिरी शक्तिले आफ्नो अभीष्ट पूरा गरेको बताउनुभयो। ‘मधेसी मोर्चा धामी पनि र झाँक्री पनि आफै देखियो, सरकारको हिस्सा भएपछि जनतालाई सुरक्षा दिनुपर्नेमा जनता नै उचालेर मार्न लगाउने प्रवृत्ति गलत छ।’ –उहाँले भन्नुभयो।

एमाले संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङले राजविराज घटनाको सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। उहाँले सरकारले नैतिकरूपमा पनि घटनाको जिम्मेवारी लिनुपर्ने माग गर्नुभयो।

एमालेले सुनियोजितरूपमा राजविराज घटना मञ्चन गराएको बताउँदै शान्तिपूर्ण कार्यक्रम बिथोल्ने क्रममा भएको मानवीय क्षतिको सम्पूर्ण जवाफदेही मोर्चाले नै लिनुपर्ने बताएको छ। सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्यीकरण गर्नुपर्नेमा सप्तरीका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई फिर्ता बोलाउने गृह प्रशासनको निर्णयले झन् आशंका बढाएको एमालेले बताएको छ।

प्रतिक्रिया दिनुहोस्