सप्तरीमा तनाव उस्तै ठाउँठाउँमा तोडफोड र आगजनी



शिवहरिप्रसाद भट्टराई, राजविराज
एमालेको मेची–महाकाली अभियानको विरोधका क्रममा सोमबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु र दर्जनौं घाइते भएपछि थप आक्रोशित बनेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मंगलबार बिहानैदेखि सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाका प्रमुख बजारहरूमा उग्र प्रदर्शन गरेका छन्।

घटनाको विरोधमा मोर्चाले अनिश्चित्कालीन सप्तरी बन्दको घोषणा गरी थालेको प्रदर्शनका क्रममा राजविराजस्थित शान्ति समितिको कार्यालय तथा एमालेले अघिल्लो दिन कार्यक्रम गरेको सभास्थल गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रस्थित कार्यालय प्रमुखको कक्षमा तथा सशस्त्र प्रहरी चढेको स१प ५८४४ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन्।

यस्तै, प्रदर्शनकारीले राजविराज नगरपालिका, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र जिल्ला वन कार्यालयमा ढुंगामुढा गरी तोडफोड गरेका छन्। जनकपुरबाट अनुगमनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली चढेको बा७च ७४७३ नम्बरको गाडीमा पनि तोडफोड गरिएको छ।

उक्त घटनाको विरोधमा मोर्चाले गरेको अनिश्चित्कालीन सप्तरी बन्दका कारण यातायात, शिक्षण संस्था, कलकारखाना र व्यापारिक प्रतिष्ठान सबै ठप्प छन्। जिल्लाका सरकारी कार्यालयसमेत बन्द गराइएको छ। स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरीले अदालत रोडमा ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। यसैबीच, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मंगलबार बसेको बैठकले शान्तिपूर्ण प्रदर्शनमा गरिएको प्रहरी दमनको घोर निन्दा गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिना, नेपाल प्रहरीका प्रहरी उपरीक्षक दिवेश लोहनी, नायब प्रहरी उपरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका उपरीक्षक जयबहादुर खड्कालाई निलम्बन गर्नुपर्ने प्रमुख माग अघि सारेको छ।
त्यस्तै मृतकलाई शहीद घोषणा, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार व्यवस्था, घटनाको उच्चस्तरीय छानविन तथा संसद्मा पेस गरिएको संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिनुपर्नेलगायतका माग पनि मोर्चाले अघि सार्दै उक्त माग पूरा नभएसम्म आमहड्ताल र आन्दोलनका थप सशक्त कार्यक्रमहरू अघि बढ्ने निर्णय विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ।

यता, मोर्चाको प्रदर्शनका कारण स्थिति असहज बन्दै गएपछि स्थानीय प्रशासनले दिउँसो साढे २ बजे लगाउने भनिएको कफ्र्यु स्थगन गरेको छ। प्रमुख जिल्ला अधिकारी तिमिल्सिनामार्फत नायब प्रहरी उपरीक्षक दानबहादुर कार्कीले सञ्चारकर्मीलाई कफ्र्युका बारेमा जानकारी दिए पनि अन्तिम अवस्थामा कफ्र्यु आदेश स्थगन गरिएको जानकारी उनैले दिएका थिए।

प्रतिक्रिया दिनुहोस्