संशोधन प्रक्रिया झमेलामा



बीपी साह, काठमाडौं
संविधान संशोधनको प्रक्रिया झन् लम्बिने भएको छ। सरकारले संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधनको परिणाम स्वीकार गर्ने वातावरण बने मात्र संशोधन अगाडि बढ्न दिने अडान लिएको छ।

चुनावको मिति घोषणापछि मंगलबार नै सरकारले संशोधन सदनमा छलफलका लागि पठाउने तयारी गरेको थियो। तर, प्रमुख प्रतिपक्षीले थप समयको माग गरेपछि बुधबारसम्मका लागि सदन स्थगित भएको थियो। बुधबार पनि संसद् बिहीबार दिउँसो ३ बजेसम्मका लागि सूचना टाँस गरी स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दलसहित विपक्षी ९ दलले संशोधन प्रक्रियामा गएको खण्डमा आउने परिणाम स्वीकार गर्न मोर्चा तयार भए मात्र प्रक्रिया अगाडि बढ्न दिने निर्णय गरेको छ। बुधबार बसेको राज्य व्यवस्था परामर्श समितिको बैठकमा विपक्षी गठबन्धनले मधेसी मोर्चाले परिणाम स्वीकार गरे मात्र संशोधन अगाडि बढ्न दिने अडान लिए। तर, मधेसी मोर्चाले भने त्यसबारे अहिले नै भन्न नसकिने जनाएको छ। सत्ता पक्ष र विपक्षीहरूले थप समयको माग गरेपछि बुधबारको संसद् बैठक स्थगित भएको हो।

बुधबार बसेको ९ दलको बैठकमा संविधान संशोधनका विषयमा सत्ता पक्षबाट जवाफ आउन आवश्यक रहेको निष्कर्ष निकालिएको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो। बैठकपछि रावलले भन्नुभयो– ‘सीमांकनको हेरफेरको विषय आउँदा प्रदेश सभाले प्रस्ताव गर्नुपर्छ।

यी विषयमा सरकारको धारणा आउनुपर्छ। उहाँले सत्तापक्षबाट जवाफ नआउँदासम्म संसद बैठक नचलाइयोस् भन्ने नौ दलको निर्णय रहेको बताउनुभयो।

‘संविधान संशोधनको विधेयकलाई प्रक्रियामा लगेपछि मधेसी मोर्चाले प्रक्रियालाई मान्छ कि मान्दैन भन्ने प्रश्न पनि उब्जिएको छ। त्यसबारेमा पनि स्पष्ट पार्नुपर्छ रावलले भन्नुभयो, ‘मोर्चाले परिणाम मान्छ कि मान्दैन।

संविधान संशोधन प्रक्रियामा लग्न माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संशोधन विधेयक फेल भए आफूहरूले परिणाम अस्वीकार गर्ने बताएको छ। निर्वाचन घोषणालगायतका अन्य विषयमा तीन दल सहमत हुने तर मधेसको मागमा तीन दल सहमत नहुने ? भन्ने प्रश्न गर्दै मोर्चाका नेताहरूले तीन दल सहमत भए संशोधन पास हुने दाबी गरेका छन्।

संसद् बैठक स्थगित भएपछि मधेसी मोर्चाको घटक तराई मधस लोकतान्त्रिक पार्टीका संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले तीन दलले संविधान संशोधन पारित गराउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘संविधान संशोधनको परिणाम सबैले स्वीकार गर्नुपर्छ तर मधेसको सवालमा दलहरूले छलकपट गरेको खण्डमा संशोधन फेल हुन्छ। र, त्यो परिणामलाई मधेसी मोर्चाले स्वीकार गर्ने छैन।

शुक्लाले संशोधन फेल भए वा पास भए के गर्ने भन्ने विषयमा मोर्चाले निर्णय गरी नसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्