हिउँ चितुवा संरक्षणका लागि नेपालमा अनुसन्धान केन्द्र स्थापना हुने



नेपाल समाचारपत्र
काठमाडौं
संकटासन्न अवस्थामा रहेको हिउँ चितुवाको संरक्षण कार्यका लागि नेपालमा ‘हिमालयन रिर्सच सेन्टर’ स्थापना गरिने भएको छ। युवा पुस्ताको संलग्नतामा अध्ययन⁄अनुसन्धान, सचेतनामूलक कार्यक्रमसहित संरक्षणकार्य अघि बढाउन सेन्टर स्थापना हुने भएको हो।

नेपालले अन्तर्राष्ट्रिय स्तरको सेन्टर स्थापनाको प्रस्ताव गरेको थियो। शुक्रबार काठमाडौंमा सम्पन्न हिउँ चितुवा पाइने विभिन्न १२ मुलुकका मन्त्री र उच्च अधिकारी संलग्न ‘हिउँ चितुवा र पारिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रम’ (जीएसएलईपी) को दोस्रो बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा सहभागी मुलुकहरू एसियाको पानीको मुख्य स्रोत मानिने हिमालय परिस्थितिकीय प्रणालीको एकीकृत संरक्षण, बढ्दो हिउँ चितुवा–मानव द्वन्द्व न्यूनीकरण, बासस्थान र आहरा व्यवस्थापन, अवैध चोरी शिकारी नियन्त्रण, अन्तरदेशीय सीमा व्यवस्थापन गर्न सहमत भएका छन्।

हिउँ चितुवाजस्ता जन्तु संरक्षणमा एक अर्को मुलुकमा भइरहेका अनुभव आदान–प्रदान गर्दै हातेमालो गरेर अघि बढ्न सहभागीहरू सहमत रहेका वन मन्त्रालयका सह–सचिव डा. महेश्वर ढकालले जानकारी दिनुभयो। ‘यो जन्तुको वासस्थान सुरक्षित बनाउन तथा संख्या बढाउन अन्तर्राष्ट्रिय संघ⁄संस्था र अन्तर्राष्ट्रिय स्तरमा भएका वातावरणीय महासन्धीसँग हातेमालो गर्दै अघि बढ्ने निर्णय भएको छ’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

बैठकले आगामी सेप्टेम्बरमा उज्वेकिस्तानमा आयोजना हुने अन्तर्राष्ट्रिय हिउँ चितुवा सम्मेलन र त्यस अघि आगामी जुलाइमा पाकिस्तानमा आयोजना हुने सम्मेलन पूर्वको तयारी बैठकका लागि आधार तयार गरेको ढकालले बताउनुभयो।
सोही कार्यक्रममार्फत नेपालले हिउँ चितुवा लक्षित संरक्षण कार्यक्रमका लागि नेपालका तर्फबाट ५ करोड रुपियाँ छुट्याएको छ। बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँ चितुवा लक्षित संरक्षण कार्यक्रमका लागि नेपालका तर्फबाट ५ करोड रुपियाँ रकम छुट्याउने घोषणा गर्नुभयो। नेपालको यो घोषणालाई अन्य सहभागी मुलुकहरूले सकारात्मक रूपमा लिएका छन्। यस अघि नेपालले हिउँ चितुवा संरक्षण केन्द्रित बजेट विनियोजन गरेको थिएन। प्रधानमन्त्री प्रचण्डले नेपालले अघि बढाएको हिउँ चितुवा संरक्षणको ५ वर्षे कार्य योजना (२०१७–२०२१) सार्वजनिक गर्नु भएको थियो।

संरक्षणकर्मीहरू हिउँ चितुवालाई हिमालयन श्रृंखलाको ‘सद्भावना दूत’ का रूपमा सम्बोधन गर्दै आएका छन्। यो जन्तु नेपाल, अफगानिस्तान, भुटान, चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, मंगोलिया, पाकिस्तान, रुस, ताजाकिस्तान र उज्वेकिस्तानको प्राकृतिक वासस्थानमा भेटिएको छ। बैठकको उद्घाटनका अवसरमा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले चमत्कारिक, दुर्लभ र लोपोन्मुख हिउँ चितुवा र यसको पारिस्थितीक प्रणाली संरक्षणमा १२ वटै मुलुकबीच गतिलो हातेमालो हुनु जरुरी बताउनुभयो।

हिउँ चितुवाको बासस्थान विनास, मानव वन्यजन्तु द्वन्द्व, शिकार र अवैध व्यापार र जलवायु परिवर्तनजस्ता कारणले हिउँ चितुवा संरक्षणमा चुनौती बढेको बताउनुहुँँदै उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, सबै मुलुकको यो साझा चुनौती हो, विश्वमा केही हजारको संख्यामा मात्र रहेको यो जन्तुको संख्यालाई सुधार्न बलियो राजनीतिक प्रतिवद्धतासँगै आर्थिक स्रोत जुटाउन जरुरी छ।’
नेपालमा ३ सयदेखि ५ सयको संख्यामा रहेको अनुमान गरिएको हिउँ चितुवाको संख्या विश्वमा ५ हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ। यसअघि बैठकमा बोल्दै वनमन्त्री शंकर भण्डारी, पाकिस्तानका वातावरण मन्त्री जहिद हमिद, किर्गिस्स्तानका वन मन्त्री अब्द्याकल्यक रुस्तमोभलगायतले हिउँ चितुवा संरक्षणमा एक अर्को मुलुकबीच गतिलो हातेमालो र अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकता औंल्याउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्