जोखिम पहिरो न्यूनीकरण कार्यक्रम शुरू



नेपाल समाचारपत्र
काठमाडौं
मुलुकभर गएका पहिरोको तथ्यांक संकलन गरेर रोकथामको पहल अघि बढाउन ‘जोखिम पहिरो न्यूनीकरण कार्यक्रम’ शुरू गरिएको छ। मुलुकका विभिन्न ५३ जिल्ला केन्द्रित १० वर्षे विशेष कार्यक्रम शुरू भएको हो। जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग मातहत रहने कार्यक्रमले तराईका २२ जिल्लाबाहेकका पहाड, मध्यपहाड र चुरे क्षेत्रसमेत समेट्ने बताइएको छ।

पहिरो रोकथामका लागि परम्परागत अभ्याससँगै बायो–इन्जिनियरिङ, ग्याविनवाल निर्माण, वृक्षरोपण, नालीकटान र अन्य संरचना निर्माणसँगै प्रभावित क्षेत्र आसपासका बासिन्दासमेतको संलग्नतामा कार्यक्रम अघि बढाइने कार्यक्रम प्रमुख एवम् विभागका उप–महानिर्देशक कौशलकुमार झाले बताउनुभयो।

‘पहिरो गएको र सम्भावित जोखिम क्षेत्र के कस्तो हो, त्यसको विस्तृत अध्ययन गरेर त्यहींको भूगोल सुहाउँदो रोकथाम कार्यक्रम अघि बढाउन प्राथमिकता दिइनेछ’, उहाँले भन्नुभयो– ‘सरकारका अन्य निकायसँगको समन्वय र सहकार्यमा कार्यक्रम अघि बढाइनेछ।’ कार्यक्रम कार्यान्वयन गर्नुअघि पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन⁄अवलोकन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हुने झाले बताउनुभयो।

पहिरोले तत्कालै जनधनको क्षति पुर्याउने सम्भावना भएका क्षेत्रमा भने यसै आर्थिक वर्षदेखि नै न्यूनीकरणको पहल अघि बढ्ने बताइएको छ।

सिँचाइ मन्त्री दीपक गिरीले सोमबार जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा विशेष कार्यक्रमको शुभारम्भ गर्नुभयो। कार्यक्रम पहिरो प्रभावित क्षेत्रमा केन्द्रित हुने भएकाले सो विभाग, सिँचाइ विभाग र विभाग मातहतका डिभिजनल र सब डिभिजनल कार्यालयमार्फत सम्बन्धित जिल्लामा कार्यक्रम अघि बढाइने उहाँले बताउनुभयो। सिँचाइ मन्त्रालयको पहलमा गत मंसिर दोस्रो साताको मन्त्रिपरिषद्को बैठकले यस्तो कार्यक्रम स्वीकृत गरेको थियो। तत्काल कार्यक्रम अघि बढाउन ८० करोड रुपियाँ बराबरको बजेट प्रस्ताव गरिएको र विभिन्न दातृ निकायको आर्थिक सहयोगमा कार्यक्रमलाई प्रभावकारी बनाउने बारेमासमेत छलफल भइरहेको सो मन्त्रालयले जनाएको छ।

जल उत्पन्न विभागले ५३ वटै जिल्लामा भएका पहिरोको स्थलगत अध्ययन⁄अवलोकन गरेर ठूलो, मझौला र सानोस्तरको पहिरो वर्गीकरण गर्ने जनाएको छ। प्रारम्भिक चरणको अध्ययनअनुसार ताप्लेजुङको हाङदेवा र हिरवा, रसुवाको राम्चे, कास्कीको सिन्दुजुरे, नवलपरासीको राम्चे केरुङ्गे, सल्यानको कपुरकोट खारा, रोल्पाको फगामलगायतका पहिरोलाई ठूलो पहिरोका रूपमा वर्गीकरण गरेको छ।

त्यसैगरी काभ्रेको माझीफेदा, बझाङको सुबेडा, बाग्लुङको ढोडेनी धर्मघाट र पञ्चकोट, मुगुको शेरा, गुल्मीको ह्वाङदी मेहेले, धादिङको गर्दोलाई मझौला पहिरोको रूपमा वर्गीकरण गरेको छ।

विभागले पहिचान गरेका मझौला पहिरोको सूचीमा सिन्धुपाल्चोकको मेलम्ची र गुन्सा, सिन्धुलीको लखनपुर भुसुने, कास्कीको लुम्ले, रसुवाको वेत्रावती, नवलपरासीको रुम्सी र देउराली, सिन्धुलीको कुडुले बेसी तथा काठमाडौंको चपली बूढानीलकण्ठ सूचीकृत छन्। अहिले प्रारम्भिक चरणको अनुगमन कार्य भइरहेकाले सबै जिल्लाको विस्तृत विवरण आउन समय लाग्ने विभागका सिनियर डिभिजनल इन्जिनियर वासुदेव तिमल्सिनाले बताउनुभयो। उहाँका अनुसार केन्द्रीय दैवी प्रकोप उद्धार कोष, जिल्लास्थित दैवी प्रकोप समिति र अन्य सरोकारवाला निकायले विगतमा संकलन गरेका तथ्यांकलाई समेत आधार मानेर डीपीआर तयार हुनेछ।

प्रतिक्रिया दिनुहोस्