लोकमानको अर्को सुनुवाई २१ गते



विकास भट्टराई
काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकार बिहीन पमुख आयु्क्त लोकमान सिंह कार्कीको योग्यता विवाद भएको मुद्दाको सुनुवाई अव यही पुस २१ गते हुने भएको छ ।
दुई दिनसम्म लगातार सुनुवाई गरेपछि सो विवादलाई अव यही पुष २१ गते सुनुवाई गर्ने गरी पेशी राखिएको सर्वोच्च अदालतबाट थाहा भएको छ । हिजो शुक्रबारको बहसमा लोकमानको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता माधव बस्नेतले सो विषयलाई सर्वोच्च अदालतले पुनरावलोकन गर्न नसक्ने जिकिर गरेका थिए ।
यसैबीच सर्वोच्च अदालतले अख्तियारका अधिकार बिहीन पमुख आयुक्त कार्कीलाई वारिस राख्नको लागि अनुमति दिएको छ । न्यायाधीशहरु ई्श्वरपसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले वारेस राख्ने अनुमति दिएको हो ।
म्याद तामेल गर्न असहयोग गरेको आरोप लागेको मुद्दामा कार्कीलाई आँफै अदालतमा उपस्थित हुन आदेश दिएबमोजि उहाँ हालसम्म अदालतमा आँफै गई तारेख लिइरहनु भएको थियो ।
सो क्रममा बिहीबार उहाँलाई अदालत उपस्थित हुने क्रममा कालो मोसो दलिएको थियो । शुक्रबार भएको बहसको क्रममा वरिष्ठ अधिवक्ता न्यौपानेले वारेसको अनुमति पनि नदिने अनि अदालतको परिसर भित्र कालोमोसो दल्ने कार्य उपयुक्त नभएको बताउनुभएको थियो ।
अदालतले वारेस अनुमति दिएपछि अव लोकमान तारेख बुझन अदालत गइरहन नपर्ने भएको छ । यस अघि तारेखको दिनमा सधैं उहाँ अदालत गइरहनु पर्दथ्यो ।
यसैबीच बिहीबार अख्तियारका पमुख आयुक्त कार्कीलाई कालोमोसो दलेपछि सर्वोच्च अदालतमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ । अदालत परिसर भित्र छिर्ने कालो कोट धारी कानुन ब्यवसायीको पनि परिचय पत्र हेरि भित्र छिराइएको छ ।
यस अघि कालो कोट लगाउने जोकोहीलाई पनि कानुन ब्यवसायी भन्ने ठानेर सजिलै सर्वोच्च अदालतको परिसरमा छिर्न अनुमति दिने गरिन्थ्यो । अव भने सर्वोच्च अदालतको मूल गेट, नेपाल बारको गेट र महान्यायाधिवक्ताको कार्यालय छिर्ने गेटमा सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।
कार्कीलाई कालोमोसो दलेको घटनालाई लिएर सर्वोच्च अदालतमा रहेका पहरी समक्ष सोधपुछ गर्न थालिएको छ । सर्वोच्च अदालत स्रोतले दिएको जानकारी अनुसार त्यहाँका प्रहरी पमुख लगायतलाई सोधपुछ गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्