देउवाले ओलीलाई भने ‘मिस्टर चुप!



मधुसूदन रायमाझी, काठमाडौं

राजनीतिक दलहरूलाई सहमतिबाट अगाडि बढ्न आग्रह गर्ने उद्देश्यले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठकमा दलहरूबीच चर्काचर्की भएको छ। सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकले विभाजित राजनीतिक दलहरूलाई सहमति कायम गरेर अगाडि बढ्न आइतबार राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई शीतल निवासमा बोलाउनुभएको थियो।

राष्ट्रपति भण्डारीले संविधान कार्यान्वय गर्न राजनीतिक शक्तिहरू मिलेर अगाडि बढ्न आग्रह गर्दै बोलाउनुभएको बैठकको शुरूमा नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच चर्काचर्की भएको थियो। बैठकको शुरूमा आफ्नो धारणा राख्ने क्रममा एमाले अध्यक्ष ओलीले कांग्रेसले सत्ताका लागि सहमति तोडेको आरोप लगाउँदै सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रको पक्षमा नभएको बताउनुभएको थियो।

ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताल नेपाल समाचारपत्रसँग भने– ‘संविधान जारी गर्नुपूर्व भएको सहमतिअनुसार संविधान कार्यान्वयनमा पनि तीन दल मिल्नुपर्ने आवश्यकता थियो। सत्ताको स्वार्थमा कांग्रेसले सहमति तोड्ने काम गर्यो, हामीलाई नसोधी रातरात ल्याएको संविधान संशोधन प्रस्तावमाथि ठूलो आशंका छ। यो संवैधानिक छैन, त्यसैले हामीले संसद्मा प्रवेश गर्न दिएका छैनौं।⁄ निकै आक्रमक रूपमा प्रस्तुत हुनुभएका ओलीले प्रमुख प्रतिपक्ष दललाई बेवास्ता गरेर अगाडि बढ्न खोजेकाले संविधान संशोधन विधेयक पास हुन नसक्ने बताउनुभएको थियो।

लगत्तै सामुन्ने रहनुभएका नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले ओलीको आरोपको खण्डन गर्दै अहिले सरकारले ल्याएको संविधान संशोधन विधेयक तत्कालीन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेअनुसार नै ल्याएकाले विरोधको अर्थ नरहेको बताउनुभएको थियो। देउवाको भनाइ उद्धृत गर्दै ती नेताल भने– ‘ओलीजी आफ्नै हस्ताक्षर गर्ने अनि अहिले ठूलो राष्ट्रवादको कुरा गर्ने?⁄ देउवाले नेपाली सीमाका रक्षा गर्ने मधेसी जनतालाई अपमानित गर्ने गरी प्रस्तुत हँुदा देशको सद्भाव बिथोल्ने भन्दै ओली वरुद्ध खनिनुभएको थियो। ‘देउवाले आफ्नो भनाइ राख्ने क्रममा बीचमै एमाले अध्यक्ष ओलीले यो आरोप सत्य होइन भन्दै प्रतिवाद गरे पनि देउवाले मिस्टर चुप लाग्नुस् ठूलो कुरा गर्ने भन्दै प्रतिवाद गर्नुभयो।⁄

बैठकमा सहभागी एक नेताले भने। बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभएको थियो। पछिल्लो पटक संविधान संशोधन प्रस्तावलाई लिएर दलहरूबीच दूरी बढ्दै गएका बेला राष्ट्रपति भण्डारीले दलहरूलाई सहमति कायम गर्नका लागि मिलेर अगाडि बढ्न आग्रह गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्