नेपाली मूलका सतीश चापागाईं मेरिल्याण्ड हाउस अफ डेलिगेट्स प्राइमरीमा विजयी, अब नोभेम्बरमा रिपब्लिकनसँग प्रतिस्पर्धा


काठमाडौं ।

अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ७ए बाट हाउस अफ डेलिगेट्स सदस्यका लागि डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका युवा सतीश चापागाईं विजयी भएका छन्। प्राइमरीमा सफलता हासिल गरेसँगै अब उनले आगामी नोभेम्बरमा हुने मुख्य निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

जुन २३ मा सम्पन्न डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनको ९९ प्रतिशत मतगणना सकिँदा चापागाईंले १० हजार ४०२ मतमध्ये २ हजार ७१८ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेका हुन्। उक्त नतिजासँगै उनी डेमोक्रेटिक पार्टीका आधिकारिक उम्मेदवारका रूपमा मुख्य निर्वाचनमा प्रवेश गरेका छन्।

चापागाईंले आफ्नो चुनावी अभियानमा ‘Affordable Maryland, Safe Communities and Strong Business’ लाई मुख्य एजेन्डा बनाएका छन्। उनले बढ्दो महँगी नियन्त्रण, सुरक्षित समुदाय निर्माण, गुणस्तरीय सार्वजनिक सेवा तथा स्थानीय व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएका छन्।

हाल उनी डेमोक्रेटिक पार्टीको मेरिल्याण्ड राज्य समितिका निर्वाचित केन्द्रीय सदस्य समेत हुन्। स्थानीय राजनीतिमा सक्रिय चापागाईं सामाजिक, शैक्षिक तथा सामुदायिक क्षेत्रमा पनि लामो समयदेखि संलग्न रहँदै आएका छन्।

उनी बाल्टिमोर काउन्टी पब्लिक स्कुलमा दोभाषेका रूपमा कार्यरत हुनुका साथै सफल साना व्यवसायी पनि हुन्। विभिन्न नेपाली तथा अमेरिकी सामुदायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका चापागाईंले श्रमिक, आप्रवासी समुदाय, कमजोर वर्ग तथा सामाजिक न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।

साहित्यिक क्षेत्रमा समेत सक्रिय चापागाईंले आफूलाई सम्पादक, कवि र गीतकार का रूपमा स्थापित गरेका छन्। उनी एनआरएनए अमेरिका मा दुई कार्यकाल मिडिया कोअर्डिनेटर रहिसकेका छन् भने हाल संस्थाको सल्लाहकार को जिम्मेवारीमा छन्।

अमेरिकामा नेपाली मूलका नागरिकहरूको स्थानीय राजनीतिमा बढ्दो सहभागिताका बीच चापागाईंको यो सफलता नेपाली समुदायका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। नोभेम्बरमा हुने अन्तिम निर्वाचनमा उनले जित हासिल गरे मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा नेपाली मूलका प्रतिनिधित्व थप बलियो हुने अपेक्षा गरिएको छ।