इङ्ग्ल्यान्ड टिमलाई ‘भियग्रा’ प्रयोग गर्न छुट


काठमाडौं ।  

विश्वकपको अन्तिम १६ को भिडन्तमा घरेलु टोली मेक्सिकोविरुद्ध मैदान उत्रिँदा इङ्ग्ल्यान्डका खेलाडीहरूले एउटा यस्तो ओषधि प्रयोग गर्न पाउने भएका छन्, जसको नाम सुन्दा मात्रै पनि धेरैलाई अचम्म लाग्न सक्छ । इङ्ग्ल्यान्डको मेडिकल टोलीले आफ्ना फुटबलरहरूलाई खेलको क्रममा ‘भियग्रा’ खाने अनौठो तर नियमसम्मत अनुमति दिएको छ । समुद्री सतहबाट करिब ७ हजार ३५० फिटको अत्याधिक उचाइमा रहेको मेक्सिको सिटीको ‘एस्टाडियो एज्टेका रंगशाला’ मा हावा पातलो हुने र अक्सिजनको कमीले खेलाडीको दम फुल्ने गर्दछ । यही प्राकृतिक चुनौतीसँग जुध्न र खेलाडीहरूको सहनशक्ति तथा रिकभरी क्षमता कमजोर हुन नदिन मेडिकल स्टाफले यो कडा कदम चालेका हुन् ।

औषधि प्रयोग गर्ने वा नगर्ने निर्णय पूर्ण रूपमा खेलाडीहरूको आफ्नै इच्छामा छाडिएको छ । जसको मुख्य उद्देश्य कुनै अतिरिक्त खेल बैगुण वा गलत फाइदा लिनु नभई केवल पातलो हावामा शरीरलाई सन्तुलित राख्नु मात्र हो । वास्तवमा, भियग्राले शरीरको रक्तनलीहरू फराकिलो बनाई रगत र अक्सिजनको प्रवाहलाई तीव्र पार्न मद्दत गर्दछ, जसले गर्दा उच्च उचाइमा खेलाडीहरूलाई खेलिरहन सहज हुन्छ । सबैभन्दा रोचक कुरा त के छ भने विश्व एन्टी-डोपिङ एजेन्सी (डब्लूएडीए) को प्रतिबन्धित सूचीमा यो औषधि पर्दैन । किनकि सामान्य उचाइमा यसले खेल प्रदर्शन बढाउने कुनै ठोस वैज्ञानिक प्रमाण भेटिएको छैन । ८९ खेलमध्ये केवल दुई खेल मात्र हारेको र सन् २०१३ यता आफ्नै मैदानमा अपराजित रहेको उच्च आत्मविश्वासी मेक्सिकोलाई उसैको मैदानमा ढाल्न इङ्ग्ल्यान्डले अपनाएको यो ‘मेडिकल जुक्ति’ यतिबेला विश्व खेलकुद जगत्मा निकै चर्चा र कौतुहलताको विषय बनेको छ ।