काठमाडौं।
नेपाल विज्ञापन संघ (आन) ले परिवर्तनशील मिडिया परिदृश्य र विज्ञापन व्यवसायका चुनौती तथा अवसरबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। संघको ३६औँ स्थापना दिवसका अवसरमा सञ्चालन भइरहेको महिनाभरको कार्यक्रमअन्तर्गत शुक्रबार काठमाडौंको गौशालास्थित होटल बेस्ट वेस्टर्न प्लसमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
‘इभोल्भिङ मिडिया ल्याण्डस्केप एन्ड एभर–ट्रान्सिसनिङ एडभर्टाइजिङ बिजनेस’ विषयमा आयोजित कार्यक्रममा मिडिया, विज्ञापन तथा डिजिटल प्रविधि क्षेत्रमा देखिएका पछिल्ला परिवर्तन, चुनौती र सम्भावनाबारे विज्ञहरूबीच छलफल भएको थियो।
कार्यक्रममा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगसँगै टेलिभिजन, रेडियो तथा छापा माध्यममा आउने विज्ञापनको हिस्सा घट्दै गएको र यसले विज्ञापन बजारमा नयाँ चुनौती सिर्जना गरेको धारणा व्यक्त गरिएको थियो। सहभागीहरूले फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता प्लेटफर्ममा उपभोक्ताको आकर्षण बढेसँगै विज्ञापन रणनीतिमा पनि परिवर्तन आवश्यक भएको औँल्याए।

छलफलमा नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई), डाटा–आधारित मार्केटिङ तथा डिजिटल विज्ञापनका लागि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको र शहरी तथा ग्रामीण क्षेत्रबीचको डिजिटल साक्षरताको अन्तर पनि विज्ञापन उद्योगको चुनौतीका रूपमा रहेको निष्कर्ष निकालिएको थियो।
वक्ताहरूले चुनौतीका बाबजुद नेपाली विज्ञापन एजेन्सीहरूले डिजिटल तथा इन्फ्लुएन्सर मार्केटिङलाई प्राथमिकता दिँदै स्थानीय भाषा, संस्कृति र बजारअनुकूल सिर्जनात्मक सामग्री उत्पादनमा सक्रियता बढाएको बताए। साथै, आर्टिफिसियल इन्टेलिजेन्स र डीपफेक प्रविधिबाट सिर्जना हुन सक्ने भ्रामक विज्ञापनको जोखिम न्यूनीकरण गर्न आचारसंहिता, स्वनियमन र जिम्मेवार प्रविधि प्रयोग आवश्यक रहेकोमा जोड दिइयो।
कार्यक्रममा एडसारो नेपाल प्रालिका अध्यक्ष सुजन अधिकारीले कम्पनीले विकास गरेको डिजिटल विज्ञापन प्रविधि र त्यसको उपयोगिताबारे प्रस्तुति दिएका थिए। प्यानल छलफलमा नेपाल विज्ञापन संघका कार्यकारी सदस्य दीपेन्द्र टण्डन, बाह्रखरीका प्रधान सम्पादक प्रतीक मान प्रधान, डिजिटल विज्ञापन विज्ञ कश्यप शाक्य तथा सारस बेभरेजेज (रेडबुल नेपाल) का सेल्स एन्ड मार्केटिङ प्रमुख निर्भिक प्रधान सहभागी थिए। छलफलको सहजीकरण टेक्नोलोजीखबर डटकमका प्रधान सम्पादक अनुजराज ढुंगेलले गरेका थिए।
कार्यक्रमको समापन गर्दै नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले डिजिटल विज्ञापन प्रविधिले विज्ञापन उद्योगसँगै सञ्चारमाध्यम र विज्ञापनदातालाई पनि प्रभावकारिता, पारदर्शिता तथा लागत व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्था तथा सहभागीप्रति आभार व्यक्त गरे।











प्रतिक्रिया