चितवन ।
आफ्नै निर्वाचन क्षेत्र चितवन–२ अन्तर्गत भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको दुःखद् मृत्यु भएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम घटनास्थल पुगेकी छन् ।
शनिबार राति जंगली हात्तीले घरमै प्रवेश गरी आक्रमण गर्दा पूर्ण बोटेको श्रीमती र छोराको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारसँग माग गरेका छन्।
घटनापछि आइतबार बिहान मन्त्री गौतम घटनास्थल पुगेर पीडित परिवारसँग भेट गरेकी हुन् । उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिन्। साथै, सरकारले उपलब्ध गराउने राहत तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री गौतमले चितवनका वन क्षेत्र आसपासका बस्तीमा जंगली हात्तीको प्रवेश बढ्दै गएकाले स्थानीयको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताइन् । वन्यजन्तुबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय बढाई तत्काल प्रभावकारी उपाय अपनाउनुपर्नेमा उनले जोड दिइन् ।
स्थानीयवासीले पछिल्लो समय जंगली हात्ती बस्तीमै पस्ने घटना दोहोरिन थालेको भन्दै रातिको समयमा उच्च जोखिम हुने गरेको गुनासो गरेका छन्। उनीहरूले हात्ती नियन्त्रण, विद्युतीय बार, निगरानी प्रणाली तथा प्रभावित परिवारलाई पर्याप्त राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
यस घटनाले पुनः चितवनमा मानव–वन्यजन्तु द्वन्द्वको समस्या गम्भीर बन्दै गएको संकेत गरेको छ। स्थानीय तह, वन कार्यालय तथा सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउँदै दीर्घकालीन समाधानका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।











प्रतिक्रिया