रुसका इतिहासकार पूर्व प्राध्यापक र भाषाविद् समेत रहेका अनातोली मोस्कभिनलाई मृत व्यक्तिहरूप्रतिको असामान्य रुचिका कारण धेरैले चिन्दथे। सन् २०११ मा प्रहरीले उनको निज्नी नोभगोरोदस्थित फ्ल्याटमा छापा मार्दा ३ देखि १३ वर्ष उमेरका २६ जना मृत बालिकाहरूको ममी बनाई, लुगा लगाइदिएर गुडिया जस्तै बनाएर राखेको डरलाग्दो अवस्थामा फेला पारेको थियो।उनी सार्वजनिक रूपमा चिहानघाट घुम्न, समाधिमा लेखिएका विवरण अध्ययन गर्न र त्यहाँ गाडिएका मानिसहरूको जीवनकथा खोज्न आफूलाई निकै मन पर्ने बताउँथे।अनुसन्धानका क्रममा मोस्कभिनले विभिन्न चिहानबाट २९ वटा शव निकाली आफ्नै अपार्टमेन्टमा ल्याएको खुल्यो।
भोल्गा नदी किनारको निज्नी नोभगोरोडस्थित उनको अपार्टमेन्टमा प्रहरीले छापा मार्दा जीवन आकारका ‘गुडिया’ जस्ता देखिने मानव शवहरू फेला परेका थिए। ती शवलाई रंगीन फ्रक टाउकोमा रुमाल तथा कपडाले बेरेर सजाइएको थियो। प्रहरीका अनुसार ती वास्तवमा ममी बनाइएका मानव अवशेष थिए। उनकाे घरभित्र गुडिया बनाउने तरिका सम्बन्धी निर्देशन, पुराना प्लास्टिकका गुडिया र शव सजाउन प्रयोग गरिएका सामग्री समेत बरामद भएको प्रहरीले जनाएको थियो।
प्रहरीले सुरुमा पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगरे पनि उनी ४५ वर्षीय, निज्नी नोभगोरोडका इतिहासका चर्चित अध्येता भएको जनाएको थियो। पछि रुसी सञ्चारमाध्यमहरूले उनलाई अनातोली मोस्कभिन भनेर पहिचान गरेका थिए। उनी स्थानीय चिहानहरूको इतिहासका सबैभन्दा जानकार विज्ञ मानिन्थे।
प्रहरीका अनुसार मोस्कभिनले विशेषगरी युवतीहरूको शव आफ्नो सङ्ग्रहका लागि रोज्ने गरेका थिए। उनको घरबाट चिहानका फोटो, समाधिमा राखिने नामपट्टिका लगायतका सामग्री पनि भेटिएका थिए, जसले शवको पहिचान गर्न अनुसन्धानकर्तालाई सहयोग पुगेको थियो।
यो पक्राउ सन् २०१० देखि निज्नी नोभगोरोडका विभिन्न चिहानहरूमा भइरहेको शव अपमान सम्बन्धी अनुसन्धानपछि भएको थियो। केही स्थानीय सञ्चारमाध्यमले प्रहरीले उनलाई चिहानबाट हड्डी बोकेको अवस्थामा नियन्त्रणमा लिएको दाबी गरेका थिए भने अन्यले अनुसन्धानका क्रममा सल्लाह लिन घर पुगेका प्रहरी टोलीले शवहरू फेला पारेको उल्लेख गरेका थिए।
मोस्कभिनसँग काम गरेका स्थानीय पत्रिकाका सम्पादक अलेक्सी येसिनले घटनाले आफू स्तब्ध भएको बताएका थिए। उनी मोस्कभिनलाई एक्लै बस्न रुचाउने र केही अनौठा बानी भएका व्यक्ति भनेर चिन्थे, तर यति भयावह काम गरेको कल्पना गर्न नसकेको बताएका थिए।
मोस्कभिन भाषाविज्ञानका विशेषज्ञ थिए। उनले सेल्टिक संस्कृतिमाथि अध्ययन गरेका थिए र १३ वटा विदेशी भाषा जान्दथे। उनले निज्नी नोभगोरोड क्षेत्रका चिहान तथा ऐतिहासिक स्थलसम्बन्धी धेरै लेख पनि प्रकाशित गरेका थिए।
सन् २००७ मा दिएको एक अन्तर्वार्तामा उनले आफू सात कक्षामा पढ्दादेखि चिहान घुम्न थालेको बताएका थिए। उनले २००५ देखि २००७ बीच करिब ७५२ वटा चिहान निरीक्षण गरेको र त्यसका लागि दैनिक करिब ३० किलोमिटर पैदल यात्रा गर्ने गरेको दाबी गरेका थिए। यात्राका क्रममा पानीका खाल्डाबाट पानी पिउने, परालका थुप्रा वा परित्यक्त फार्ममा रात बिताउने र एकपटक अन्त्येष्टिका लागि तयार गरिएको कफिनमै समेत सुतेको अनुभव उनले सुनाएका थिए।
पक्राउ पर्नुअघि प्रकाशित एउटा लेखमा उनले आफू १२ वर्षको हुँदा एउटा अन्त्येष्टि यात्रामा सहभागी व्यक्तिहरूले ११ वर्षीया मृत बालिकाको निधारमा जबरजस्ती चुम्बन गर्न लगाएको घटना उल्लेख गरेका थिए। त्यसपछि आफू मृत्युसम्बन्धी रहस्य तर्फ आकर्षित भएको बताएका थिए।
मोस्कभिनको घटना रुसकै सबैभन्दा अनौठा तथा डरलाग्दा शव अपमानका घटनामध्ये एक मानिन्छ। अनुसन्धानपछि उनलाई मानसिक स्वास्थ्य परीक्षणका लागि पठाइएको थियो। पछि उनलाई ‘प्यारानोइड सिजोफ्रेनिया’ मानसिक रोग भएको पत्ता लाग्यो। अदालतले उनलाई मुद्दा चलाउन अयोग्य ठहर गर्दै उपचारका लागि उच्च सुरक्षा भएको मनोचिकित्सा अस्पतालमा पठाएको थियो, जहाँ उनी अहिले पनि उपचाररत छन्।











प्रतिक्रिया