घुम्ती गोठका १५ गोठालालाई सोलार सेट र त्रिपाल सहयोग

940
Shares

लमजुङ।

लमजुङको क्व्होलासोथार गाउँपालिका–५, सिङ्दीका घुम्ती गोठमा पशुपालन गर्दै आएका १५ जना गोठालाले गाउँपालिकाबाट निःशुल्क सोलार सेट र त्रिपाल प्राप्त गरेको छ । दुर्गम क्षेत्रमा बसोबास गर्दै पशुपालन गरिरहेका गोठालाको दैनिक जीवनलाई सहज बनाउन गाउँपालिकाले सो सहयोग उपलब्ध गराएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङ कर्मचारीसहित सिङ्दी पुगेर लाभग्राहीलाई सोलार सेट र त्रिपाल हस्तान्तरण गरेको हो । सामग्री वितरण कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष गीतबहादुर गुरुङ, वडा सदस्य बर्तमाया गुरुङ तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा अध्यक्ष गीतबहादुर गुरुङले सिङ्दी भौगोलिक रुपमा टाढा र दुर्गम क्षेत्रमा रहे पनि स्थानीय सरकार त्यहाँका नागरिकका आवश्यकता र समस्याप्रति संवेदनशील रहेको बताउनु भयो । अध्यक्ष गुरुङले वडा कार्यालयमा प्राप्त सबै निवेदनलाई सम्बोधन गर्दै घुम्ती गोठका गोठालालाई आवश्यक सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । यस कदमले गोठालाको पेसाप्रति गाउँपालिकाले देखाएको सम्मान र जिम्मेवारी स्पष्ट भएको गुरुङको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङले दुर्गम क्षेत्रमा पशुपालन गर्दै आएका घुम्ती गोठका गोठालाको दैनिक जीवनलाई केही सहज बनाउने उद्देश्यले सोलार सेट र त्रिपाल वितरण गरिएको बताउनुभयो । उहाँले स्थानीय सरकार नागरिकका आवश्यकता र समस्याप्रति सदैव संवेदनशील रहेको उल्लेख गर्दै दुर्गम बस्तीका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । पशुपालन स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रमा संलग्न किसान तथा गोठालाको हितलाई प्राथमिकतामा राखेर गाउँपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्दै जाने उहाँको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले वडा कार्यालयमार्फत प्राप्त निवेदनका आधारमा सामग्री वितरण गरिएको जानकारी दिँदै दुर्गम क्षेत्रका नागरिकको आवश्यकता र मागलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिने बताउनु भयो ।