देशभर केही सातादेखि बढेको अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएकोमा अहिले मनसुनको आगमनसँगै तापक्रममा केही कमी आउन थालेको छ । त्यसैले सर्वसाधारणले राहतको अनुभूति गर्न थालेका छन् । तर मनसुनले केवल शीतलता मात्र ल्याउँदैन, यससँगै बाढी, पहिरो, डुबान, चट्याङ तथा अन्य प्राकृतिक विपद्को जोखिम पनि बढेर आउँछ । त्यसैले मनसुनको स्वागतसँगै सम्भावित विपद्को सामना गर्न राज्य र नागरिक दुवै पक्ष सचेत एवं तयारी अवस्थामा रहनु आवश्यक छ ।
मौसमविद्हरूका अनुसार आगामी सातादेखि देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । यस वर्ष मनसुन सरदरभन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको भए पनि आगामी दिनमा छोटो अवधिमा अत्यधिक वर्षा हुने सम्भावना औंल्याइएको छ । विशेष गरी ‘एल निनो’ प्रणालीको प्रभावका कारण वर्षाको वितरण असन्तुलित हुन सक्ने, कतै अत्यधिक वर्षा र कतै खडेरीको अवस्था देखिन सक्ने चेतावनी दिइएको छ । यसले कृषि, खानेपानी, सडक सञ्जाल तथा जनजीवनमा प्रत्यक्ष असर पार्न सक्छ । चिन्ताको विषय के हो भने, नेपालमा हरेक वर्ष मनसुनजन्य विपद्ले ठूलो धनजनको क्षति पु¥याउने गरेको छ । बाढी र पहिरोका कारण सयौं परिवार विस्थापित हुने, सडक अवरुद्ध हुने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने र मानवजीवन नै जोखिममा पर्ने गरेको विगतका अनुभव छन् । तर यस्ता घटनाबाट पाठ सिकेर दीर्घकालीन तयारी गर्ने काम भने अझै प्रभावकारी बन्न सकेको छैन ।
सरकारले विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । जोखिमयुक्त बस्तीको पहिचान, सम्भावित पहिरो तथा बाढी प्रभावित क्षेत्रमा निगरानी, उद्धार सामग्रीको व्यवस्थापन, सुरक्षा निकायको तयारी तथा स्थानीय तहसँगको समन्वयलाई बलियो बनाउन आवश्यक छ । विपद् आइपरेपछि मात्र सक्रिय हुने प्रवृत्तिले क्षति बढाउने भएकाले पूर्वतयारीमै विशेष ध्यान दिनुपर्छ । स्थानीय सरकारहरू पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ । नदीकिनार, पहिरोको उच्च जोखिम भएका क्षेत्र तथा अव्यवस्थित बस्तीहरूमा विशेष सतर्कता अपनाउनुपर्छ । विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक सेवाका केन्द्रहरूलाई आकस्मिक अवस्थाको सामना गर्न सक्षम बनाउनु आवश्यक छ ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत समयमै सही सूचना प्रवाह गर्नु पनि विपद् न्यूनीकरणको महत्वपूर्ण पक्ष हो । नागरिक स्वयं पनि सतर्क हुन आवश्यक छ । मौसम विज्ञान विभागले जारी गर्ने पूर्वानुमान, चेतावनी तथा तीनदिने मौसम बुलेटिनलाई नियमितरूपमा अनुशरण गर्नुपर्छ । जोखिमयुक्त मौसममा अनावश्यक यात्रा नगर्ने, नदी तथा खोलाको बहाव बढेका बेला सतर्क रहने र स्थानीय प्रशासनका निर्देशन पालना गर्ने बानीले ठूलो दुर्घटना टार्न मद्दत गर्न सक्छ । मनसुन नेपालको कृषि, जलस्रोत र अर्थतन्त्रका लागि अपरिहार्य वरदान हो । तर पर्याप्त तयारीविना यही वरदान अभिशापमा परिणत हुन सक्छ । त्यसैले मनसुनलाई केवल वर्षा र राहतको मौसमका रूपमा होइन, सम्भावित विपद्को मौसमका रूपमा पनि बुझ्नुपर्छ । समयमै सचेतना, समन्वय र तयारी गर्न सकियो भने प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्दै मनसुनका सकारात्मक पक्षको अधिकतम लाभ लिन सकिनेछ ।











प्रतिक्रिया