इलाम । केचनाको समथर भूभागदेखि कञ्चनजंघाको हिमाली उचाइसम्म फैलिएको पूर्वी नेपालको पर्यटन सम्भावना अपार रहेको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अनेक आयाम बोकेको यस क्षेत्रलाई एउटै पर्यटकीय करिडोरका रूपमा विकास गर्ने बहस लामो समयदेखि चल्दै आएको छ । यही बहसलाई नीतिगत र व्यावहारिक निष्कर्षतर्फ लैजाने उद्देश्यसहित इलाममा ‘केचना–कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट २०८३’ सम्पन्न भएको छ ।
गत शनिबारबाट शुरु भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । सम्मेलनमा पर्यटन, वातावरण संरक्षण, आतिथ्यता, वन्यजन्तु संरक्षण, हरित लगानी, सीमापार पर्यटन तथा स्थानीय सहभागितालगायत विषयमा व्यापक छलफल भएको छ । सम्मेलनमा सहभागी एसिया क्षेत्रीय पर्यटन प्रतिनिधि राज बसुले सीमावर्ती क्षेत्रमा पर्यटकमैत्री वातावरण निर्माण गर्नुपर्ने र पर्यटन विकासका लागि दिगोपनलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यस्तै, महिला उद्यमी संघ इलामकी अध्यक्ष रोमी पौडेल कोइरालाले पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न नसके पर्यटनको वास्तविक लाभ स्थानीय तहसम्म नपुग्ने बताउँदै पर्यटकलाई आकर्षित गर्न अनुभव, संस्कृति र स्थानीय पहिचान अनिवार्य हुने धारणा व्यक्त गर्नुभयो । इलाम नगरपालिका प्रमुख केदार थापाले मेची क्षेत्रका झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई एउटै पर्यटन सञ्जालमा जोड्न सके भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो । उहाँले जातीय, धार्मिक र सांस्कृतिक विविधताको प्रवद्र्धनले पर्यटनलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसै गरी, इलाम नगर पर्यटन प्रवद्र्धन समितिकी अध्यक्ष सुशीला सापकोटाले केचना–कञ्चनजंघा करिडोरको गुरुयोजना आवश्यक रहेको उल्लेख गर्दै पर्यटनमैत्री तथा लगानीमैत्री नीति निर्माणसँगै परिणाममुखी योजनामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । सम्मेलनमा पर्यटनलाई कसरी दिगो, जिम्मेवार र स्थानीय समुदायमैत्री बनाउने भन्ने विषय प्रमुखरूपमा उठाइएको थियो ।
पर्यटक बढाउने प्रतिस्पर्धामा प्राकृतिक सम्पदा र जैविक विविधता नोक्सान नहोस्, स्थानीय समुदायले प्रत्यक्ष लाभ पाऊन् र वातावरणीय प्रभाव न्यून रहोस् भन्ने उद्देश्यसहित जिम्मेवार पर्यटनको अवधारणा अघि सारिएको छ । सम्मेलनमा स्थानीय संस्कृति, परम्परागत परिकार, हस्तकला, महिला उद्यमशीलता तथा स्थानीय उत्पादनको समेत प्रदर्शन गरिएको थियो । यसले पर्यटनलाई घुमफिरको माध्यम मात्र नभई स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास गरेको देखिन्छ । पूर्वी नेपालको पर्यटन सम्भावना विशाल भए पनि पूर्वाधार विकास, बजारीकरण, लगानी अभाव तथा नीतिगत समन्वय अझै चुनौतीका रूपमा रहेका छन् । केचना–कञ्चनजंघा करिडोर केवल पर्यटन नारा बन्ने कि पूर्वी नेपालको आर्थिक समृद्धिको आधार बन्ने भन्ने कुरा अब आगामी कार्यान्वयनले निर्धारण गर्नेछ । तर पनि स्थानीयहरुमा आशा भने पलाएको छ ।











प्रतिक्रिया