सगरमाथामा सांसदको पाइला

2.16k
Shares

ओखलढुङ्गा । 

प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद शेर्पाले यही जेठ १३ गते बिहान ५ बजेर ४० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन । 

सांसद शेर्पाले सगरमाथाको आरोहण गरेसँगै सगरमाथा आरोहण गर्ने पहिलो बहाल वाला सांसद बनेका छन् । सांसद शेर्पाले योसँगै सगरमाथाको आरोहण १० पटक गरेका छन् । बहालवाला  सांसद पहिलो सगरमाथा आरोही बनेका शेर्पाको नाममा विभिन्न गिनिज बुक रेकर्ड रहेका छन् ।

 शेर्पाले १४ वटा शिखरहरू आरोहण गर्ने सबैभन्दा कान्छो ब्यक्तिको रेकर्ड गिनिज बुकमा आफ्नो नाममा रेकर्ड रहेको बताउनु भएको छ । यसै गरी  सगरमाथा र के टु चढ्ने व्यक्ति, जाडो याममा के टु आरोहण गर्ने र सबै भन्दा धेरै पटक के टु आरोहण गर्ने रेकर्ड आफ्नो नाममा रहेको बताउनु भएको छ । 

आफूले के टु हिमालको ६ पटक आरोहण गरेको उहाँले बताउनु भएको छ । पाकिस्तान र चिनको सिमानामा रहेको केटु हिमाल सगरमाथा पछिको सन्सारको दोस्रो अग्लो हिमाल हो । 

क्रूर हिमालको उपनामले परिचित यो हिमालको उचाइ ८ हजार ६ सय ११ मिटर रहेको छ । बारम्बार हिमपहिरो गई रहने र धेरै ठाडो भएकाले यो हिमाल आरोहण गर्न कठिनाइ रहेको आरोहीहरूको भनाई रहेको छ । 

पर्यटन व्यवसायबाट ख्याति कमाएका मिङमा ग्याबु शेर्पाले ८ हजार भन्दा माथिका हिमालहरू ३६ पटक भन्दा धेरै आरोहण गरि सकेका छन् । शेर्पाले हाल सम्म १ सय जना भन्दा धेरै हिमालमा फसेकाहरूलाई उद्धार गरेका छन् । जस मध्य पाँच वटा शवको उद्धार गरेको उहाँको भनाई रहेको छ । 

किर्तिमानी शेर्पाको जन्म बुबा छेतेन शेर्पा र आमा फुटी शेर्पाको कोखमा फक्तालुङ गाउँपालिका ६ ताप्लेजुङमा २०४६ सालमा भएको हो ।

शेर्पाले सगरमाथाको चुचुरोमा सङ्घीय संसद्को लोगो अङ्कित झन्डा समेत पर्यायका छन्  ।