पश्चिम एसिया युद्धले नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव: रेमिट्यान्स घट्दो, पर्यटन संकटमा

470
Shares

काठमाडौं।

नेपालभन्दा हजारौं माइल टाढा पश्चिम एसियामा फैलिएको युद्धले नेपालको अर्थतन्त्रमा गम्भीर असर पु¥याउन थालेको छ । प्रत्यक्ष रूपमा नेपाल युद्धमा सामेल नभए पनि, अमेरिका–इजरायल र इरानबीच फैलिएको द्वन्द्वले नेपालको अर्थतन्त्रका तीनवटा मुख्य आधारस्तम्भ, वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स, पर्यटन र पेट्रोलियम पदार्थको आपूर्ति संकटमा परेका छन् ।

मध्यपूर्वमा करिब २० लाख दक्ष र अर्धदक्ष नेपाली श्रमिक कार्यरत छन् । तर युद्धका कारण त्यहाँका ठूला उद्योगहरू धराशयी हुँदै गएका छन् भने केही उद्योग पलायन हुन थालेका छन् । विश्व अर्थतन्त्रको यो संकट नेपालको रेमिट्यान्स आप्रवाहमा प्रत्यक्ष असर देखिन थालेको छ ।

यस बारेमा अन्तर्राष्ट्रिय आप्रवासन विज्ञ डा. हेन्रिक निल्सन भन्नुहुन्छ– ‘मध्यपूर्वमा जारी अस्थिरताले आप्रवासन प्रवाहमा प्रत्यक्ष असर पारिरहेको छ । नेपाली कामदारका लागि नयाँ भिसा प्रक्रिया सुस्त भएको छ भने विद्यमान कामदार पनि जोखिममा परेका छन् । यदि, अवस्था लामो समयसम्म यस्तै रह्यो भने रेमिट्यान्समा ठूलो गिरावट आउन सक्छ ।’ उहाँले भन्नुभयो– ‘नेपाल अहिले पनि श्रम निर्यात गर्ने, वस्तु आयात गर्ने र घरजग्गामा लगानी गर्ने चक्रमा फसेको छ । करिब आठ लाख नेपाली युवा रोजगारीको खोजीमा हरेक महिना विदेशिन बाध्य छन् ।’

‘यसले संकेत गर्छ कि हामी भविष्यमा १० वर्षपछि मध्यम आय भएको मुलुकको सूचीमा पनि टिक्न सक्दैनौं’, उहाँले भन्नुभयो– ‘मध्यपूर्वको युद्धको प्रभाव लामो समय रहने हो भने नेपालको अर्थतन्त्र थप कमजोर हुँदै जाने छ ।’ विश्व बैंकको प्रतिवेदनले भनेको छ– ‘विदेशी रोजगारीको नेपाली अर्थतन्त्रको लागि पुरानो अवधारणा हो, तर अहिले यसले सोचेभन्दा ठूलो संकट निम्त्याउने खतरा छ । मध्यपूर्वबाट आउने रेमिट्यान्स घट्दा नेपालको ग्रामीण अर्थतन्त्रमा ठूलो असर पर्नेछ ।’
विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल विकास अद्यावधिक’ प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष २०२५÷२६ मा मात्र १७ हजार २ सय ६७ नेपाली गरिबीको रेखामुनि धकेलिने अनुमान गरिएको छ । युद्धको कारणले मध्यपूर्वमा काम गर्ने नेपालीको आय घट्दै जाँदा नेपालमा गरिबी बढ्ने लक्षण देखा परेको छ । यद्यपि, कुल जनसंख्याको तुलनामा गरिबीको दर ६ दशमलव ५ प्रतिशतबाट ६ दशमलव ६ प्रतिशतमात्रै बढ्ने देखिए पनि यो संख्यात्मक रूपमा महत्वपूर्ण मानवीय संकटको संकेत हो ।

पश्चिम एसियामा युद्धको सबैभन्दा प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा परेको छ । नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन व्यवसाय यतिबेला ठूलो संकटमा छ । पश्चिमा पर्यटक नेपाल आउन छाडेका छन् तर अप्रत्याशित रूपमा यसले नेपालको अर्थतन्त्रमा गम्भीर संकट निम्त्याएको छ ।

यो बारेमा पर्यटनविद् सीएन पाण्डेले भन्नुभयो– ‘मध्यपूर्वको ट्राभल हब (यूएई, कतार, टर्की) मा सीधा असर परेको छ । यसले गर्दा नेपाल आउने पर्यटकको आगमनमा कमी आएको छ । जब ट्राभल रुट नै अवरुद्ध हुन्छ, तब पर्यटक आउन छाड्छन् ।’ उहाँले यसलाई नेपालको पर्यटन क्षेत्रको निम्ति ‘ठूलो धक्का’ भएको बताउनुभयो ।

पछिल्लो तथ्याङ्कअनुसार, सन् २०२५ को मार्चमा १ लाख २१ हजार ६ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेकोमा २०२६ को मार्चमा यो संख्या घटेर १ लाख २ हजारमा सीमित भएको छ । तर, यो केही हजारको कमीमात्र देखिए पनि, युद्धले होटलले रेट बढाउँदा र बन्दाबन्दीका कारण ठूलो संख्यामा बुकिङ रद्द भएको छ ।
पोखराका होटल व्यवसायीहरूले नियमित वसन्त सिजनमा ८० प्रतिशतको हाराहारीमा रहने कोठा अकुपेन्सी यसपालि ५० प्रतिशतमा झरेको बताएका छन् । लुम्बिनीमा त ६० प्रतिशतभन्दा बढी बुकिङ रद्द भएको व्यवसायीहरुले बताएका छन् ।

युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । नेपाल आयल निगमले घाटा बढ्दै गएको भन्दै पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढाएको छ । यसले गर्दा सवारी भाडादेखि खाद्यान्न मूल्यसम्म बढेको छ ।

एसियाली विकास बैंक (एडीबी) को प्रतिवेदनले यसले नेपालको सबै क्षेत्रलाई असर गरेको बताएको छ । एडीबी कन्ट्री डाइरेक्टर आर्नाउड काउस्वाले भन्नुभयो– ‘नयाँ राजनीतिक स्थायित्वले केही सकारात्मक आशा जगाए पनि मध्यपूर्व युद्धले नेपाली अर्थतन्त्रको तेलको मूल्य, रेमिट्यान्स र पर्यटनलाई ठूलो जोखिममा पारेको छ ।’

अर्थतन्त्र डामाडोल हुँदा पनि सरकारको ध्यान भने सुकुम्बासी बस्ती भत्काउने र सहरबाट गरिब लखेट्ने काममा केन्द्रित देखिन्छ । अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले यसलाई ‘जबरजस्ती बस्ती हटाउने कार्य’ भन्दै आलोचना गरेको छ । नेपाल महिला एकता समाजका अनुसार यसले करिब २५ हजार मानिसलाई विस्थापित गरेको छ । एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निरजन थपलियाले भन्नुभयो– ‘बिना पूर्वसूचना, उचित परामर्श र आवासको विकल्पबिना परिवारलाई विस्थापित गर्नु मानव अधिकारको गम्भीर हनन हो ।’ पश्चिम एसियाको युद्धपछि रेमिट्यान्स घट्दो छ, पेट्रोलियम पदार्थको मूल्य बढ्दै छ, पर्यटक आगमन घट्दै छ र नेपालको अर्थतन्त्र कोरोनाकाल सरहको संकटमा फस्ने खतरा देखिएको अर्थविद्हरू बताउँछन् ।