खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु


काठमाडौँ ।

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र संयुक्त राष्ट्रसंघीय बसोबास कार्यक्रम (यूएन–ह्याबिटाट) को संयुक्त आयोजनामा खानेपानी उपभोक्ता समितिहरुको क्षमता विकास गर्ने उद्देश्यले तीन दिने तालिम कार्यक्रम सुरु भएको छ ।

आजदेखि सुरु भएको उक्त तालिम यही वैशाख १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समिति तथा खानेपानी व्यवस्थापन बोर्डसहित २४ वटा संस्थाबाट ४५ जना प्रतिनिधिहरुको सहभागिता रहेको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्देश्य उपभोक्ता समितिहरुको संस्थागत क्षमता अभिवृद्धि गर्दै खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनु रहेको कार्यकारी निर्देशक ई श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार तालिममा सहभागीहरुलाई नेतृत्व विकास, संस्थागत व्यवस्थापन, समस्या समाधानका उपाय, आर्थिक व्यवस्थापन, महसुल निर्धारण प्रक्रिया, सेवा प्रवाहको गुणस्तर सुधार तथा खरिद प्रक्रियामा अपनाउनुपर्ने मापदण्डका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

उहाँले भन्नुभयो, “खानेपानी उपभोक्ता समितिहरु स्थानीय स्तरमा अत्यन्त महत्वपूर्ण संरचना हुन् । उहाँहरुको नेतृत्व क्षमता र व्यवस्थापन दक्षता बढेमा सेवा प्रवाह पनि प्रभावकारी हुन्छ । त्यसैले यस तालिममार्फत नेतृत्वले आफ्ना कर्मचारीसँग कसरी समन्वय गर्ने, सेवाग्राहीसँग कसरी व्यवहार गर्ने र संस्थालाई पारदर्शी तथा उत्तरदायी बनाउने भन्ने विषयमा विशेष जोड दिइएको छ ।”

आज तालिमको पहिलो दिन विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण प्रदान गरेका थिए । राष्ट्रिय सानासहकारी महासंघका अध्यक्ष खेम ओली, नगर विकास कोषका खानेपानी तथा सरसफाइ विज्ञ सुभाषराज पन्त, खानेपानी विज्ञ चोकप्रसाद धिताल, कमल अधिकारी, खानेपानी मन्त्रालयका प्रतिनिधि योगेन्द्र चित्रकार, खानेपानी विभागका सुरत बम तथा तालिम केन्द्रका कार्यकारी निर्देशक ई रामकुमार श्रेष्ठले सहभागीहरुलाई विषयगत प्रस्तुति दिनुभएको थियो ।

विज्ञहरुले खानेपानी आयोजना सञ्चालन गर्दा अपनाउनुपर्ने प्राविधिक तथा प्रशासनिक प्रक्रियाका साथै वित्तीय अनुशासन, पारदर्शिता र समुदायको सहभागितालाई कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी गराउनुभएको थियो ।

नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका खानेपानी उपभोक्ता समितिहरुलाई सशक्त बनाउने उद्देश्यले यस्तो तालिम पहिलो पटक आयोजना गरिएको ई श्रेष्ठले बताउनुभयो ।

धेरै स्थानमा खानेपानी आयोजनाहरु सञ्चालन भइरहे पनि व्यवस्थापन क्षमता अभाव, प्राविधिक ज्ञानको कमी तथा आर्थिक व्यवस्थापनका चुनौतीका कारण सेवा प्रभावकारी हुन नसकेको अवस्था रहेको बताइएको छ ।

यस तालिमले सहभागीहरुलाई आवश्यक ज्ञान, सीप तथा अनुभव प्रदान गर्दै स्थानीय स्तरमा खानेपानी सेवा व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

साथै तालिममार्फत सहभागीहरुले सिकेका ज्ञान र अनुभव आफ्नो क्षेत्रमा लागू गरी खानेपानी तथा सरसफाइको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।