५ वर्षमा २ अर्ब २० करोड दुरुपयोग, असुलउपर प्रक्रिया सुरु

2.44k
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर विदेश बस्ने र प्रमाणपत्र नबुझाएर ठगी गर्ने प्राध्यापकको संख्या सार्वजनिक गरेको छ । प्राध्यापक, सहप्राध्यापक र शिक्षकले करिब २ अर्ब २० करोड रुपियाँ ठगी गरेका छन् । त्रिभुवन विश्वविद्यालयले ती शिक्षक तथा कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले गत पुस २५ गते डा. जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय खोजबिन समिति गठन गरेको थियो । समितिको सदस्यमा कृष्णहरि आचार्य र सदस्य सचिवमा दीपक तिवारी रहनुभएको थियो । समितिले चार महिना लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरेको हो ।

समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको छ ।विश्वविद्यालयको नियम, मर्यादा तथा जिम्मेवारीप्रति बेवास्ता गर्दै ठगी गर्ने प्राध्यापक तथा सहप्राध्यापकमध्ये केही विदेश पलायन भएका छन् भने केहीले प्रमाणपत्र पेस गरेका छैनन् । रकम नतिरेर ठाँट बसिरहेका छन् । त्यसरी त्रिभुवन विश्वविद्यालयलाई ठगी गर्नेको संख्या ३९८ रहेको छ । तीमध्ये १९१ नफर्किएका र २०७ जना बिदा लिएर अध्ययन पूरा नगर्ने (प्रमाणपत्र पेस नगर्ने) रहेका छन् ।

कुन संकायको कति ?
नेपाल समाचारपत्रले प्राप्त गरेको ३४ पेज लामो प्रतिवेदनअनुसार ९ संकायका ठगी गर्नेको संख्या यसप्रकार छ ः
मानविकी तथा सामाजिक – ११४
विज्ञान प्रविधि – १०६
इन्जिनियरिङ – ९९
वनविज्ञान – २८
व्यवस्थापन – १९
कृषि तथा पशु विज्ञान – १३
चिकित्साशास्त्र – ९
शिक्षाशास्त्र – ९
कानुन – १

प्रतिवेदनअनुसार इन्जिनियरिङ अध्ययन संस्थानका ६२ जना नफर्किएका र ३७ जना प्रमाणपत्र पेस नगरेका गरी जम्मा ९९ जना रहेका छन् । विज्ञान प्रविधि अध्ययन संस्थानका नफर्किने ५६ र प्रमाणपत्र पेस नगरेका ५० गरी १०६ जना रहेका छन् । वनविज्ञानका ११ नफर्किएका र १७ जनाले प्रमाणपत्र पेस नगरेको गरी २८ जना रहेका छन् ।

कृषि तथा पशु विज्ञानतर्फ ११ नफर्किएका र २ प्रमाणपत्र पेस नगरेका गरी १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानका नफर्केका ६ र प्रमाणपत्र पेस नगरेका ३ गरी ९ जना, मानविकी तथा सामाजिक संकाय अध्ययन संस्थानमा नफर्किएका ३० र प्रमाणपत्र पेस नगरेका ८४ गरी ११४ जना रहेका छन् ।
शिक्षाशास्त्रमा नफर्केका ७ र प्रमाणपत्र पेस नगरेका २ गरी ९ जना, व्यवस्थापनमा नफर्केका २ र प्रमाणपत्र पेस नगरेका १७ गरी

१९ जना र कानुन संकायमा प्रमाणपत्र पेस नगरेका १ जना रहेका छन् भने अध्ययन बिदामा गएका फिर्किएका छन् । ९ वटा संकायमा नफर्कने १९१ र प्रमाणपत्र पेस नगर्ने २०७ गरी जम्मा ३९८ जना रहेका छन् । सबैभन्दा धेरै मानविकी तथा सामाजिक संकायका रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियम २०५० मा तीन वर्षभन्दा बढी पाँच वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि, तीन वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा तीन वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिभुवन विश्वविद्यालयको ढुकुटीबाट खाइपाइ आएको तलबभत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक तथा कर्मचारीले कबुलियतनामा गरेका हुन्छन् । पाँच वर्षसम्म त्रिभुवन विश्वविद्यालयको तलब खाने र बिदा सकिएपछि विदेश बस्ने सबै शिक्षक तथा कर्मचारीको फेहरिस्त तयार गरिएको छ ।

प्रतिवेदनमा उल्लेख छ, शिक्षकमा देखिएको असंवेदनशीलताले शिक्षण, अनुसन्धान तथा मार्गदर्शनमा कमजोरी आउने खतरा रहन्छ । त्यस्तै, नैतिक क्षतिले संस्थागत अनुशासनमा नकारात्मक प्रभाव पारेको छ । अध्ययन बिदा अवधिभर तलब सुविधा लिँदा विश्वविद्यालयको आर्थिक स्रोतमा अनावश्यक बोझ परेको छ । अध्ययन बिदा लिएर निर्धारित समयमा नफर्किने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयलाई थप समस्यामा पारेको छ ।

यस्तो अवस्थामा सम्बन्धित शिक्षक वा कर्मचारी दरबन्दीमा कायम देखिए पनि प्राज्ञिक गतिविधिमा उनीहरूको कुनै संलग्नता नहुने उल्लेख छ । परिणामस्वरूप दरबन्दीअनुसार रिक्त समयमै विज्ञापन गर्न नसकिने अवस्था सिर्जना हुन्छ । यसले गर्दा पठनपाठन कार्य सञ्चालन गर्न आंशिक तथा करार शिक्षकहरूको भर पर्नुपर्ने हुन्छ, जसले विश्वविद्यालयमा आर्थिक र व्यवस्थापकीय चुनौतीमात्र होइन, शैक्षिक गुणस्तरमा समेत कमी ल्याउने समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा लेखिएको छ–‘त्रिभुवन विश्वविद्यालयको हालको उपप्राध्यापक पदको शिक्षकको सेवा सुविधालाई मात्र आधार मान्ने हो भने एक शिक्षकको आधारभूत तलब ४८ हजार ७३७ रुपियाँ हुन्छ । ८ ग्रेड वापत १३ हजार र सञ्चयकोष तथा नगरिक लगानी कोषसमेत १०÷१० प्रतिशत कट्टी गर्दा १२ हजार ३४८ र मासिक बिरामी बिदावापत २ हजार ५७३, महँगी भत्ता २ हजार, प्राज्ञिक भत्ता १ हजार र चाडपर्व खर्च ६१ हजार ७३७ गरी जम्मा वार्षिक १० लाख १७ हजार ६३३ रुपियाँका दरले ३९८ शिक्षक तथा कर्मचारीले ५ वर्षको अवधिमा २ अर्ब २० करोड रुपियाँको हाराहारीमा सुविधाको दुरुपयोग गरेको देखिन्छ ।’

विश्वविद्यालयले योग्य, दक्ष र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गरेको हो । तर, प्राध्यापकहरूले बिदाको चरम दुरुपयोग गरेको पाइएको छ । अध्ययन संस्थानतर्फ संकायतर्फभन्दा तुलनात्मक रूपमा बढी देखिएको छ ।

अध्ययन बिदा लिएपछि क्याम्पस कार्यालयमा नफर्कने शिक्षक तथा कर्मचारीहरूको संख्या, प्राविधिक धारका शिक्षक तथा कर्मचारीहरू अध्ययन बिदाको क्रममा विदेश जानु, साथै विदेशमा प्राविधिक जनशक्तिको उच्च अवसर र माग हुनु हो । त्यस्तै, संकायतर्फका शिक्षक तथा कर्मचारीहरूले प्रायः नेपालमै अध्ययन र अनुसन्धान गर्ने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले धेरैजसो शिक्षक तथा कर्मचारीहरू प्रविधिमैत्री नभएकाले सूचना व्यवस्थापन प्रणालीको प्रयोगमा झन्झट महसुस गरेको पाएको छ । यसले बिदा नीतिको प्रभावकारी कार्यान्वयनमा अवरोध उत्पन्न गरेको छ र सुधारका लागि संस्थागत समन्वय, प्रविधिमैत्री संस्कृति तथा तथ्यांक व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने खाँचो देखिएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका केही शिक्षकहरूले स्वीकृत अध्ययन बिदा लिएपछि निर्धारित समयमा अध्ययन पूरा नगर्ने, तथा अध्ययन बिदा सकिएपछि क्याम्पस वा विभागमा पुनः नफर्किने प्रवृत्तिले अध्ययन बिदाको मूल उद्देश्य नै विफल बनाएको समितिको निचोड छ ।