नेपालको स्वास्थ्य क्षेत्र र अबको बाटो

5.92k
Shares

स्वास्थ्य सेवा मानव जीवनको आधारभूत आवश्यकता हो । स्वस्थ जीवनयापन गर्न गुणस्तरीय स्वास्थ्य सेवा अनिवार्य हुन्छ । यो संसारका सबै समाजमा लागू हुने ध्रुवसत्य हो । संसारका विभिन्न देशहरू र समाजहरू विकासका फरक–फरक चरणमा छन् । त्यसकारण स्वास्थ्य सेवाको विद्यमान अवस्था, त्यसका चुनौती र प्राथमिकताहरू पनि भिन्नाभिन्नै हुन्छन् । तसर्थ स्वास्थ्य सेवाको भविष्यबारेको छलफल त्यही देशको सामाजिक, आर्थिक, भौगोलिक, राजनीतिक र संरचनात्मक सेरोफेरोमा रहेर गर्नुपर्छ ।
नेपालले बितेका केही वर्षहरूमा स्वास्थ्य क्षेत्रमा केही उल्लेखनीय प्रगति पक्कै गरेको छ ।

विशेषतः खोप कार्यक्रमलाई विस्तार गर्न सक्नु र मातृ शिशु मृत्युदरमा कमी ल्याउन सक्नुलाई सराहनीय मान्नुपर्दछ । नेपालको मातृ मृ्त्यु अनुपात १९९० को दशकबाट सन् २०२२ सम्म आइपुग्दा ५०० प्रति १ लाख जीवित जन्मबाट १५१ पुग्नुजस्ता तथ्याङ्कले यो कुराको पुष्टि गर्दछ । यद्यपि, नेपालको स्वास्थ्य सेवा प्रणालीका सामु प्रशस्त चुनौतीहरू छन् । सीमित साधन–स्रोत, प्रशिक्षित स्वास्थ्यकर्मीहरूको कमी, ग्रामीण र शहरी क्षेत्रबीचको असमान स्वास्थ्य सेवा र स्रोतको उपलब्धता, बढ्दो दीर्घ रोगको चाप आदि केही विद्यमान समस्याहरूका उदाहरण हुन् ।

स्वास्थ्य प्रणालीमा रातोरात चामत्कारिक सुधार सम्भव छैन । अल्पकालीन लक्ष्यहरू, मध्यम अवधिका संरचनात्मक सुधारहरू अनि दीर्घकालीन रूपान्तरणकारी लक्ष्यहरू निर्धारण गर्न आवश्यक छ । महँगा र अत्याधुनिक अस्पतालहरू निर्माण गर्नु तत्कालको आवश्यकता होइन । प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरणलाई मुख्य अल्पकालीन लक्ष्यअन्तर्गत राख्नुपर्दछ । संघीय संरचनामा स्थानीय स्तरबाट स्वास्थ्य सेवालाई बलियो बनाउनुपर्छ ।

स्थानीय तहलाई अधिकार र स्पष्ट जिम्मेवारी दिनुपर्दछ । स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई अझ मजबुत बनाउनु, मातृशिशु स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउनुलगायत मौसमी तथा सङ्क्रामक रोगहरू मात्र नभई अति नियमित रूपमा देखिने उच्च रक्तचाप, मधुमेह, थायरोइड, कोलेस्टेरोलजस्ता असङ्क्रामक दीर्घकालीन रोगहरूको पनि नियमित जाँच र उपचार स्थानीयस्तरमै सुनिश्चित गर्नुपर्ने देखिन्छ । असङ्क्रामक दीर्घकालीन रोगहरूलाई प्रारम्भिक चरणमै स्थानीय स्वास्थ्य संस्थामा नियन्त्रण गर्न सकेमा व्यापक जनस्वास्थ्य सुधार गर्न सकिन्छ ।

नेपालमा अझै पनि प्राथमिक चिकित्सकको अवधारणा नभएको जस्तो लाग्छ । सीधै विशेषज्ञ स्वास्थ्यकर्मीकहाँ जानुभन्दा एउटा निश्चित प्राथमिक चिकित्सक निर्धारण गर्ने प्रणाली बनाउन सके धेरैवजसो रोगको रोकथाम अनि उपचार एकै ठाउँमा हुनसक्छ । आवश्यकताअनुसार प्राथमिक चिकित्सकले विशेषज्ञकोमा ‘रेफर’ गर्ने परिपाटी बसाल्न मिल्छ । यसले सम्पूर्ण स्वास्थ्य प्रणालीलाई व्यवस्थित बनाउँछ अनि सरकार र व्यक्तिगत स्वास्थ्य खर्च कम गर्छ ।

नेपालको कठिन भौगोलिक बनोट र दुर्गम भूभागका कारण व्यापक स्वास्थ्य सेवा उपलब्ध गराउनु आफैँमा चुनौतीपूर्ण छ । कतिपय सीमान्तकृत समुदायहरू अझै पनि समान स्वास्थ्य सेवाबाट वञ्चित छन् । कतिपय महिला, बालबालिका र वृद्धहरूमा स्वास्थ्य सेवासम्बन्धी ज्ञान, जानकारी र पहुँच अपर्याप्त छ । यी भौगोलिक र सामाजिक असमानतालाई मध्यनजर गर्दै घुम्ती स्वास्थ्य सेवा, आउटरिच कार्यक्रमहरू र लक्षित जनचेतना अभियानमा जोड दिनु आवश्यक छ । अमेरिकास्थित टुलेन युनिभर्सिटीले २०२१ मा प्रकाशन गरेको एक लेखका अनुसार यस्ता सेवाहरूले परम्परागत स्वास्थ्य सेवा प्रणालीको तुलनामा कम लागतमा गुणस्तरीय सेवा प्रदान गर्न सक्छन् । यसले स्वास्थ्य सेवामा पहुँच बढाउँछ ।

दक्ष स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीको मेरुदण्ड हुन् । उनीहरूलाई पर्याप्त मात्रामा उत्पादन गरेर मात्रै हुँदैन । देशभित्रै बस्ने वातावरण पनि बनाउनुपर्दछ । स्वास्थ्यकर्मीको प्रतिधारण भनेको उनीहरूलाई कानुनीरूपमा बाँधेर नेपालमै बस्न लगाउनु होइन । राम्रो शिक्षा र अवसरको खोजी गर्नु मानव स्वभाव नै हो । गुणस्तरीय उच्च शिक्षा र रोजगारीको अवसरमा विदेशिने स्वास्थ्यकर्मीहरूलाई देशमै फिर्ता आउने वातावरण सिर्जना गर्न जरुरी छ । यो नै बढी व्यावहारिक, लोकतान्त्रिक र मानवीय उपाय हो । स्वास्थ्यकर्मीहरू सबल आर्थिक पक्ष मात्र हेर्दैनन्, उनीहरूलाई समान अवसर, पेसागत विकास, योग्यतामा आधारित प्रणाली, भेदभावरहित र हिंसामुक्त कार्य वातावरणको आभास गराउन सके पनि धेरै स्वास्थ्यकर्मीहरू स्वदेशमै सेवा दिन प्रेरित हुनेछन् ।

स्वास्थ्यकर्मी पनि पेसाप्रति जिम्मेवार र आचारसंहिताको पक्षधर हुनुपर्छ । अस्पतालको समय र दायित्वप्रति प्रतिबद्ध रहनुपर्छ । स्वास्थ्यकर्मीमा कुनै पनि प्रकारको स्वार्थको द्वन्द्व हुन मिल्दैन । औषधि निर्माता, वितरक वा प्रयोगशालाहरूबाट प्रत्यक्ष वा परोक्षरूपमा लाभान्वित हुन मिल्दैन । पेसागत अनुशासन र आचरण नै सर्वोपरि हुन्छ ।

नेपालले एकीकृत इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को थालनी गर्नुपर्ने देखिन्छ । बिरामीका सम्पूर्ण विवरणहरू जस्तै– चिकित्सकका नोट, परीक्षण रिपोर्ट, एक्सरे, सिटी स्क्यान एकै स्थानमा सुरक्षित राख्न मिलोस् र विभिन्न स्वास्थ्य संस्थाबीच पहुँचयोग्य होस् । यसले उपचारमा समन्वय गर्न र उपचारसम्बन्धी निर्णय समयमै गर्न मद्दत गर्छ । ईएमआरले अनावश्यक दोहोरिने परीक्षणहरूको संख्या पनि घटाउँछ । यद्यपि यस्ता प्रणाली लागू गर्न गतिलो योजना, पूर्वाधार अनि तालिम चाहिन्छ । यो मध्यम वा दीर्घकालीन स्वास्थ्य सेवासम्बन्धी सुधारात्मक योजनामा मात्र सम्भव छ ।

आपतकालीन सेवालाई सरकारको नियन्त्रणमा राख्ने केन्द्रीय कमान्डको आवश्यकता छ । यो ‘कमान्ड सेन्टर’ले क्षेत्रीय तथा प्रादेशिक कमान्डहरूसँग सहकार्य गर्न सकोस् । एम्बुलेन्स, हेलिकोप्टरजस्ता आपतकालीन सेवाहरूलाई कमान्ड सेन्टरको निर्देशनमा आवश्यकताअनुसारको स्वास्थ्य संस्थामा पु¥याउनुपर्छ । यसले कमिसन लिने वा दिनेजस्ता अनुचित अभ्यासलाई आपतकालीन सेवाहरूमा निस्तेज गर्दछ अनि दीर्घकालीन रूपमा ‘हस्पिटल अन बिल्स’ जस्ता सेवाको विकास गर्न आधार बनाउँछ ।

राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमको थालनी सन् २०१६ मा भए तापनि अपेक्षित रूपमा यो प्रभावकारी हुन सकेको छैन । संयुक्त राज्य अमेरिकाको क्युनी स्कुल अफ पब्लिक हेल्थको एक रिपोर्ट (२०२५) का अनुसार कम जनसहभागिता, उच्च बिमा परित्याग दर, सेवाको गुणस्तरप्रति अविश्वास, जनचेतनाको कमी, सेवा दर्तामा ढिलाइ, कठिन रेफरल प्रकिया अनि महँगो बिमा शुल्क आदिलाई बाधक तत्व मानिएका छन् ।

सोही सर्वेक्षणमा बिमा कार्यक्रम लागू भएका स्थानहरूमा बिरामीको सङ्ख्या र प्रशासनिक भार बढे पनि जनशक्ति र स्रोत सोही अनुरूप नबढेको पाइएको थियो । विद्यमान बाधा पन्छाउँदै राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमको सफल कार्यान्वयन गर्नु यो सरकारको मुख्य दीर्घकालीन चुनौती हो ।

दीर्घकालीन योजनाअन्तर्गत अनुसन्धान र नवप्रवर्तनलाई सुदृढ बनाउने लक्ष्य राख्नुपर्दछ । राष्ट्रिय अनि क्षेत्रीय चिकित्सा अनुसन्धान संस्थाहरूको स्थापनामा जोड दिनुपर्नेछ । मेडिकल कलेज तथा विश्वविद्यालयहरूले अनुसन्धान र नवप्रवर्तनमा अग्रणी अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्नुपर्छ । आगामी पुस्तालाई चिकित्सक मात्रै नभई अनुसन्धानमुखी चिकित्सकका रूपमा तयार गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सुधारात्मक कामहरूको फेहरिस्त लामो छ । हामीले देश सुहाउँदो, किफायती, समानतामूलक, पहुँचयोग्य र डिजिटल प्रविधियुक्त स्वास्थ्य प्रणाली निर्माण गर्नुपर्छ । चुनौतीहरू प्रशस्त भए तापनि योजनात्मकरूपमा अनि चरणबद्ध तवरले पाइला चाले अबको बाटो तय गर्न पक्कै सकिनेछ ।

(लेखक डा. शर्मा बेलोर कलेज अफ् मेडिसिन, टेक्सास, अमेरिकामा छाती रोग विशेषज्ञ हुनुहुन्छ ।)