यूएईविरुद्ध नेपालको सिरिज १–१ बराबरीमा समाप्त

188
Shares

काठमाडौं।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको यूएईविरुद्धको टी २० सिरिजको दोस्रो खेलमा नेपालले जित हासिल गरेको छ । नेपालले मंगलबार भएको उक्त खेलमा पाहुना टोलीलाई ८ विकेटले हरायो ।

पहिले ब्याटिङ गरेको यूएईले १ सय २९ रनको विजयी लक्ष्य दिएको थियो । जसलाई नेपालले १५.५ ओभरमै दुई विकेटको क्षतिमा पार गरेको थियो । योसँगैं दुई खेलको टी २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज १–१ बराबरीमा समाप्त भयो । पहिलो खेलमा नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा ६ विकेटले हारेको थियो ।

दुई अर्धशतकीय साझेदारीमा कुशल भुर्तेल

कुशल भुर्तेल पहिलो खेलमा दुर्भाग्यले रनआउट भएका थिए । जसले गर्दा उनले १६ रन मात्रै बनाउन सके । तर, दोस्रो खेलमा उनले यस्तो गल्ती गरेनन् र सानदार ब्याटिङ प्रदर्शन गरे । आक्रमक ब्याटिङको नमूना पेश गर्दै ५७ बलमा ८४ रन जोडेका उनको इनिङमा १२ चौका र २ छक्का सामेल थिए ।

नेपाललाई जित दिलाउन उनको भूमिका महत्वपूर्ण रह्यो । उनी दुई अर्धशतकीय साझेदारीमा भागीदारी भए । पहिलो विकेटका लागि कुशल मल्ल (१९ रनमा आउट) सँग ७.२ ओभरमा ६७ रन साझेदारी भयो । यस्तै, तेस्रो विकेटका लागि कप्तान दीपेन्द्रसिंह ऐरी (२३ रनमा नटआउट) सँग ५८ रनको साझेदारी भएको थियो ।

तर, सन्तोष यादवले भने पहिलो अन्तर्राष्ट्रिय टी २० खेललाई स्मरणीय बनाउन सकेनन् । उनी १ रनमै आउट भएका थिए । पहिलो खेलमा पनि अर्जुन साउदलाई मौका दिइएको थियो । उनी पनि ओपनर ब्याटरको रूपमा फ्लप सिद्ध भएका थिए ।

बलिङमा हेमन्त र सन्दीप चले

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय २८ स्कोर गरेको थियो । टोलीका लागि अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए । नटआउट रहेका उनले ४२ बलमा ४ छक्का र ३ चौका प्रहार गरे ।

पहिलो खेलको तुलनामा यस खेलमा हेमन्त धामीको बलिङ सानदार रह्यो । पहिलो खेलमा १ ओभरमै २० रन खर्चेका उनले यस दोस्रो खेलमा २ विकेट लिए । उनले पहिलो बलमै अघिल्लो खेलमा यूएईलाई जित दिलाउन प्रमुख भुमिका खेलेका कप्तान मोहम्मद वसिमलाई आउट गरे ।

हेमन्तको खतरनाक बलिङले गर्दा अघिल्लो खेलमा १५ बलमा ३३ रन बनाएका वसिम दोस्रो खेलमा शून्यमै पभेलियन फर्कनु परेको थियो । यसपछि हेमन्तले हरप्रित सिंहलाई १ रनमा आउट गरेका थिए । समग्रमा हेमन्तले खेलमा उत्कृष्ट बलिङ गर्दै टी २० क्रिकेटमा नेपालका लागि भरपर्दा बलर बन्ने संकेत देखाएका छन् ।

अनुभवी सन्दीप लामिछानेले आफ्नो बलिङ धार बलियो रहेको प्रमाणित गरे । उनले तीन विकेट लिएका थिए । उनको दुबै खेलमा बलिङ निकै किफायती रह्यो । पहिलो खेलमा ३ विकेट लिन मात्र ८ रन खर्चेका उनले दोस्रो खेलमा ६ रन मात्रै दिए । अन्यमा साहब आलम र नन्दन यादवले एक–एक विकेट लिएका थिए ।
नेपालले आईसीसी मेन्स क्रिकेट विश्वकप लिग–२ को सिरिजअघि यूएईसँग टी–२० सिरिज खेलेको हो । त्यसपछि नेपालले लिग–२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ । नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजसहित नेपाल, अमेरिका र स्कटल्यान्डबीच सिरिज हुन लागेको हो ।