आदित्यको निर्णायक गोलले एनआरटी सेमिफाइनलमा

0
Shares

इलाम।

इलाममा जारी तेस्रो संस्करणको इलाम गोल्डकपमा दुई पटकको च्याम्पियन एनआरटीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
मंगलबार सम्पन्न खेलमा चित्लाङ फुटबल क्लबलाई १–० ले हराउँदैं एनआरटी अन्तिम चारमा पुगेको हो । खेलको एकमात्र गोल आदित्य शाक्यले गरेका थिए । उनले खेलको १७औँ मिनेटमा पाएको फ्रिकिकमा आकर्षक गोल गरेका थिए । यही गोल नै टोलीलाई जित दिलाउन निर्णायक बनेको थियो ।

पछिल्ला भेटहरूमा जस्तै एनआरटीले चित्लाङविरुद्ध आफ्नो विजयी यात्रा कायम राखेको छ । इलामको मैदानमा यी दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा भएको हो । यसअघिका भेटमा एनआरटीसँग चित्लाङले राष्ट्रिय लिगमा २–१ ले र झापा कपमा ४–१ को फराकिलो हार बेहोरेको थियो ।

मंगलबारको खेलमा राष्ट्रिय खेलाडी चित्लाङ एफसिका एरोन थापा मुख्य आकर्षणका रूपमा देखिए पनि टोलीलाई जित दिलाउन सकेनन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । अन्तत आदित्यको एक गोल नै एनआरटीको जितको लागि पर्याप्त बन्यो । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

बुधबार हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र एफसी र पथरी एफसी मोरङ बीच प्रतिस्पर्धा हुनेछ । मच्छिन्द्रले एन पेनाङ एफसी मलेसियालाई टाइब्रेकरमा ३–२ र पथरी ११ ले आयोजक रेडहर्ष एफसी इलामलाई ४–३ गोल अन्तरले हराएका थिए । यस्तै दोस्रो सेमिफाइनलमा एनआरटीले रोलिङ क्लब झापासँग बिहीबार खेल्नेछ ।

बैशाख १२ गते हुने फाइनल खेलको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । आठ टोलीको सहभागिता रहेको गोल्डकपको आयोजना रेडहर्ष फुटबल क्लब इलामले गरेको हो ।