होटल इच्छा अब लेमन ट्री अन्तर्राष्ट्रिय चेनअन्तर्गत सञ्चालन


काठमाडौँ ।

बाराको सिमरामा रहेको होटल इच्छा लिमिटेड अब अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री होटलको व्यवस्थापनमा सञ्चालन हुने भएको छ । दुवै कम्पनीबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएपछि होटल इच्छा अब लेमन ट्री होटल ब्रान्डअन्तर्गत सञ्चालन हुनेछ ।

लेमन ट्रीले नेपालमा काठमाडौं र चितवनमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने विराटनगरको भृकुटी चोकमा नयाँ पाँचतारे होटल सञ्चालनको तयारी गरिरहेको छ, जुन वैशाख महिनामा उद्घाटन हुने योजना छ । सम्झौतामा होटल इच्छाका प्रबन्ध निर्देशक मुन्सन वाग्ले र लेमन ट्रीका प्रबन्ध निर्देशक निलेन्द्र सिंहले हस्ताक्षर गरेका छन् ।

यो सहकार्यले बारा–सिमरा क्षेत्रको पर्यटन विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ भने अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशसँगै सेवा र व्यवस्थापनको स्तर अझ उकासिने अपेक्षा गरिएको छ ।