नयाँ प्रविधिले एमजीका कार अझ स्मार्ट र छिटो


काठमाडौँ
एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कार विकास गर्ने क्रममा उल्लेखनीय प्रगति गरिरहेको छ । कम्पनीले इलेक्ट्रीक टर्बो र विशेष मोटर प्रयोग गरी सवारीसाधनलाई अझ शान्त, छिटो र दक्ष बनाउने लक्ष्य राखेको छ ।

‘हाइब्रिड प्लस’ नाम दिइएको नयाँ प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ । यो प्रणाली आउँदै गरेको एमजी एस९ प्लग–इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुने अनुमान गरिएको छ ।

त्यसैगरी, एमजीले आफ्ना विद्युतीय कारहरूमा पनि ठूलो सुधार गर्ने योजना बनाएको छ । ‘सेमी–सोलिड–स्टेट’ भनिने नयाँ प्रकारको ब्याट्री यस वर्ष युरोपमा एमजी ४ विद्युतीय ह्याचब्याकको उच्च संस्करणमा प्रयोग गरिने बताइएको छ, जुन ठूलो मात्रामा उत्पादन हुने पहिलो प्रकारको ब्याट्री हुनेछ ।

फ्रान्कफर्टमा आयोजित कार्यक्रममा एमजीका वरिष्ठ इन्जिनियर क्यू जीले नयाँ इलेक्ट्रीक टर्बो प्रतिमिनेट ७० हजार घुम्न सक्ने जानकारी दिए। यस टर्बोले गाडीको क्षमता र दक्षता दुवै सुधार गर्दै विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई अझ सहज बनाउनेछ ।

नयाँ ‘हाइब्रिड प्लस’ प्रणालीमा डिजिटल ड्याम्पिङ प्रविधि पनि समावेश गरिएको छ, जसले गाडीको कम्पन कम गरी यात्रालाई थप आरामदायी बनाउँछ। गाडीभित्रका सेन्सरहरूले कम्पन पत्ता लगाई मोटरमार्फत त्यसलाई नियन्त्रण गर्ने व्यवस्था गरिएको छ ।

एमजीले नयाँ प्रणालीलाई सहयोग गर्न १.८३ किलोवाट–घण्टाको ठूलो ब्याट्री पनि थप्ने योजना बनाएको छ । यसले गाडीलाई अझ स्मूथ, शान्त र छिटो बनाउने अपेक्षा गरिएको छ ।

कम्पनीको ‘सोलिड कोर’ नामक नयाँ सेमी–सोलिड–स्टेट ब्याट्री पनि यसै वर्षको अन्त्यतिर सार्वजनिक हुने अनुमान गरिएको छ । यसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत तरल पदार्थ प्रयोग गरिएकाले सामान्य ब्याट्रीभन्दा बढी ऊर्जा सञ्चय गर्न सक्ने क्षमता रहेको छ ।

यसका साथै, नयाँ ब्याट्री छिटो चार्ज हुने, विभिन्न तापक्रममा राम्रो प्रदर्शन गर्ने र अझ सुरक्षित हुने दाबी गरिएको छ । परीक्षणका क्रममा दबाब वा प्वाल पार्दा पनि आगो वा स्पार्क ननिस्किने देखिएको छ, जसले यसको सुरक्षा स्तर उच्च रहेको संकेत गर्छ ।

यी सबै प्रविधिमार्फत एमजीले भविष्यका सवारीसाधनलाई अझ शक्तिशाली, सुरक्षित, शान्त र ऊर्जा–दक्ष बनाउने लक्ष्य लिएको छ ।