हेटौँडामा युनिलिभर नेपाल र राडो नेपालद्वारा वातावरणीय तथा सामाजिक सबलता पहल सुरु


काठमाडौँ
युनिलिभर नेपाल लिमिटेडले राडो (रुरल अवेयरनेस एण्ड डेभलपमेन्ट अर्गनाइजेशन) नेपालसँगको सहकार्यमा हेटौँडा–३ बसामाडीस्थित सिमलथली समुदायमा “सरोकारवालाको सहभागितामार्फत वातावरणीय तथा सामाजिक सबलता निर्माण” नामक समुदायमुखी सामाजिक उत्तरदायित्व (सीएसआर) पहलको औपचारिक शुभारम्भ गरेको छ ।

जल संरक्षण तथा स्थानीय वातावरणीय र सामाजिक सबलता सुदृढ गर्ने उद्देश्यसहित सुरु गरिएको यस परियोजनाले समुदायको सक्रिय सहभागितामार्फत दिगो विकास र जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख ललित घलानले युनिलिभर नेपालका प्रतिनिधिहरूको उपस्थितिमा स्थानीय महिलाहरूलाई बिरुवा तथा रुखका बेर्ना हस्तान्तरण गर्दै गर्नुभयो । उक्त प्रतीकात्मक हस्तान्तरणले वातावरण संरक्षणप्रति सरोकारवालाहरूको साझा प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा युनिलिभर नेपाल, राडो नेपाल, स्थानीय सरकारी निकाय, नागरिक समाजका संस्था तथा स्थानीय लाभग्राहीहरू सहित करिब ८५ जनाको सहभागिता रहेको थियो । सहभागीहरूले जलवायु परिवर्तनका चुनौती सामना गर्न समुदायस्तरको नेतृत्व, ज्ञान र स्रोतको प्रयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले व्यवसायिक वृद्धि र समुदाय विकास सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै यो पहलले दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालका लागि हित हुने कुरा कम्पनीका लागि पनि हित हुने भन्दै वातावरणीय तथा सामाजिक प्रगतिमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालले जलवायु जोखिम न्यूनीकरणका लागि समुदाय नेतृत्वको पहल अत्यावश्यक रहेको बताउँदै स्थानीय समुदायलाई ज्ञान, स्वामित्व र साधनमार्फत सक्षम बनाउने उद्देश्य रहेको स्पष्ट गर्नुभयो ।

युनिलिभर नेपालका कानुनी प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले दिगो विकासलाई जवाफदेहिता, अनुपालना र साझा जिम्मेवारीसँग जोड्दै यस्तो सहकार्यले दीर्घकालीन सामुदायिक स्वामित्व र वातावरणीय संरक्षणलाई बलियो बनाउने धारणा राख्नुभयो ।

कार्यक्रम युनिलिभर नेपालका कारखाना प्रमुख सञ्जय भट्टाचार्यले धन्यवाद ज्ञापन गर्दै सबै सरोकारवालाको सहभागिता र योगदानप्रति आभार व्यक्त गर्दै सम्पन्न भएको थियो ।